सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा आज सद्भाव र्‍याली, डिएसपी शाहीलाई जिल्ला तानियो

बाँके । दुई दिनदेखि तनावग्रस्त बनेको कोहलपुर सोमबार साँझदेखि शान्त भएको छ । स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि आइतबार विहानदेखि कोहलपुर तनावग्रस्त बनेको थियो ।

दोषीमाथि कारबाही, पीडितलाई न्याय र औषधी उपचारको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले सोमबार पनि दिनभर आन्दोलन जारी राखेका थिए । कोहलपुर घटनालाई मथ्थर बनाउन सोमबार बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले बेलुकामात्र सहमति जुटाउन सफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा कोहलपुरमा बसेको सर्वदलीय, सर्वपक्षिय बैठकले सरकारसमक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेपछि कोहलपुर शान्त बनेको हो । प्रजिअ खड्काले भने, ‘अब सहमति कार्यन्वयनको पाटोमा ध्यान दिनुपर्छ । आज सद्भाव र्‍यालीको तयारी गरिएको छ ।’

६ बुँदे माग अन्तरगत दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षा दिक्षासहित जीवनयापनको लागि उचित क्षतीपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ । आन्दोलनका क्रममा भएका घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने सहमति भएको छ ।

यस्तै, घटनामा घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीहरु लगायत सबै सरोकारवाला पक्षले पहल गर्नका सद्भाव ¥यालीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै बैठकले घटना उग्र हुन नदिन प्रहरी प्रशासन र विद्यार्थीबीच कहाँ, कसले, कुन कुन ठाउँमा कमजोरी भयो छानबिन गर्न न्यायिक समिति गठन गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोडबाट भएको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्ने, घाइतेको उपचार गर्ने लगायतका सहमति भएका छन् ।

जिल्ला तानिए डिएसपी शाही

ट्रकले विद्यार्थी कुल्चिएको विषय लिएर उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै बाँके प्रहरीले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीलाई जिल्ला तानेको छ । प्राप्त सूचना श्रोतका आधारमा बाँके प्रहरीले कोहलपुरका डिएसपी शाहीलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो ।

कोहलपुर प्रहरी प्रमुख डिएसपी शाहीको ठाँउमा बाँके प्रहरी प्रवक्ता एवं डिएसपी शिवबहादुर सिंहले नेतृत्व गरिरहेका छन् । कोहलपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी सिहं सोमबार दिनभर कोहलपुरमा घटना मथ्थर पार्न सक्रिए रहेका थिए । यद्यपी यो तथ्यलाई बाँके प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०८:१७