बाँके । आइतबार दिनभर तनावग्रस्त रहेको कोहलपुरमा मध्यान्हदेखि यातायातका साधनहरु ठप्प पारिएको छ । स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि आइतबार विहानदेखि कोहलपुर तनावग्रस्त बनेको थियो ।
दोषीमाथि कारबाही पीडितलाई न्याय र औषधी उपचारको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आज मध्यान्हदेखि पुनः आन्दोलन जारी राखेका छन् । घाइते छात्रा चन्दको उपचारका लागि काठमाडौं लगिएपछि उनको दाहिने खुट्टा काट्न परेको उपचारमा संलग्न बीएण्डबी अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
पीडित बालिकाको खुट्टा नै काटिएपछि झनै आक्रोशित बनेका कोहलपुर क्षेत्रका विद्यार्थीहरुले सोमबार मध्यान्हदेखि यसक्षेत्रको यातायात लगायत बजार पूर्णरुपले बन्द गरेका हुन् । उनीहरुले घटनास्थल र घटनाबारे अनुगमन गर्न नेपालगन्जबाट गएको राष्ट्रिय मानवअधिकार आयोग लगायत मानव अधिकारकर्मीहरुको गाडीलाई समेत सडकमै रोकिदिएका छन् ।
विद्यार्थीहरुले आयोगको गाडीसमेत चल्न नदिएपछि नेपालगन्ज कोहलपुर सडक खण्डको पिपिरीदेखि आयोगका पदाधिकारी र अधिकारकर्मीहरु गाडी थन्काएर पैदल घटना स्थलतर्फ गएको टोलीका सदस्य एवम् इन्सेक प्रदेश ५ का संयोजक भोला महतले जानकारी दिए । घटनास्थल पिपिरीदेखि करिब ६ किलोमिटर दूरीमा रहेको छ ।
घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपिरीमा सर्वदलिय सर्वपक्षिय बैठक बसिरहेको छ । उक्त बैठकले कोहलपुरमा घटेको घटना र आन्दोलनलाई मथ्थर गर्न विशेष भूमिका खेल्ने जनाइएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले भने, ‘हामी समस्या समाधान गर्न लागिपरेका छौं, आजै साँझसम्म समस्याको समाधान आउँछ ।’
सत्यपाटी ।