सूचनाको शक्ति - The Power Of Information

        

सामान्य बन्दै कोहलपुरको जनजीवन, घाइते बालिकाको दाहिने खुट्टा काटियो

बाँके । ट्रकले स्कुले बालिका प्रकृति चन्दलाई ठक्कर दिएपछि एकाएक तनावग्रस्त बनेको कोहलपुर बिस्तारै सामान्य अवस्थामा फर्किएको छ । आज विहानैदेखि कोहलपुर बजार खुलेको छ, स्थानीयहरु आफ्नो दैनिक गतिविधिमा फर्किएका छन्, वातावरण शान्त छ ।

बजारमा चहलपहल बढेको छ भने आज बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् । कोहलपुरमा निषेधाज्ञा भने हटाइएको छैन, सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । बाँकेका प्रहरी प्रमुख बीरबहादुर ओलीले अवस्था हेरेर निषेधाज्ञा हट्ने जानकारी दिएका छन् ।

कोहलपुरमा आज भएको अप्रिय घटनाप्रति बाँकेका राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरुले दुख व्यक्त गर्दै दल सम्वद्ध कार्यकर्ता तथा आम सर्वसाधारणलाई संयमित रहन आग्रह गरेका छन् । कोहलपुरमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सबै राजनीतिक दलले आ–आफ्नो क्षेत्रबाट संयमित रहन अपिल गरिरहेका छन् ।

हिजै अबेर साँझ बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकले घटनाका घाइतेहरुको उपचारको ब्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरिएको छ । साथै बैठकले आन्दोलनमा भएको क्षतिको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

बालिकाको दाहिने खुट्टा काटियो

आइतबार ट्रक दुर्घटनामा परेकी बालिका प्रकृति चन्दको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बालिकालाई थप उपचारका लागि आइतबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । अहिले बालिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

विद्यालय बन्द

आज बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको छ । आइतबार भएको घटनाप्रति दुख व्यक्त गर्दै विद्यालय बन्द गरिएको हो । क्रिशा बाँकेका, प्याब्सन कोहलपुर र नेपाल प्याब्सनका कोहलपुरले दुख व्यक्त गर्दै विद्यालय बन्द गरेको जनाएको छ ।

क्रिशाका अध्यक्ष शिवप्रसाद डागी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र अध्यक्ष बेगप्रकाश चन्दद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘विद्यालयजस्तो संवेदलशील क्षेत्रमा भएको अकल्पनीय सडक दुर्घटनामा घाइते भएका विद्यार्थी, सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ ।’

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १०:४७