सूचनाको शक्ति - The Power Of Information

        

ब्रेकिङ्ग : आन्दोलनकारीले प्रहरी क्यान्टिनमै आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा

बाँके । कोहलपुरमा एक बालिकाको मृत्युपछि भएको आन्दोलनले उग्ररुप लिएको छ । आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड तथा क्यान्टिनमा आगजनी गरिएको हो । निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मथ्थर बनेको छ । आन्दोलनमा एक दर्जनबढी विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन् । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको छ ।

आन्दोलनले उग्ररुप लिएपछि कोहलपुरमा प्रहरीले गोलीसमेत चलाएको थियो । गोली लागेर त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका छन् । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तनावग्रस्त बनेपछि कोहलपुर बजार पूर्णरुपमा बन्द भएको छ ।

अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीहरुले संयमता अपनाउन अपील गरेका छन् । कोहलपुरमा थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपिल गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिए । उनले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताए ।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दको ट्रकको ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतवार १४:४७