सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर तनावग्रस्त, ट्रकमा आगजनी, दर्जनबढी अश्रुग्याँस प्रहार

बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिका ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुलेसडकमा रहेका गाडीमा समेत ढुंगा प्रहार गरेका छन् । कोहलपुरबाट नेपालगन्ज आउँदै गरेको मालबहाक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको ट्रक ना २ ख ९४५९ नम्बरको ट्रकको ठक्कर दिएको थियो । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको थियो । जेब्राक्रसिङ्ग नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो ।

‘ट्रकले कुचल्दा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक हस्तबहादुर सुनारले जानकारी दिँदै भने । दुर्घटनामा प्रकृतिको बुवासमेत घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रकृति र उनको बुवालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ ।

विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए । लगत्तै आक्रोसित भएको भीडलाई मथ्थर पार्न आएको ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थीले ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन् ।

ट्रकले विद्यार्थी ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य सवारी साधनमाथि समेत प्रहार गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित विद्यार्थीले नेपालगन्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । दुर्घटनापछि कोहलपुरमा धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीलाई प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् ।

प्रहरीले भीडलाई हटाउन हवाई फायरसमेत गरेको छ । आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ । प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतवार १३:२६