सूचनाको शक्ति - The Power Of Information

        

तीन जना फार्मेसी निरीक्षकको भरमा २५ जिल्ला

औषधी व्यवस्था विभागको नाम मात्रको अनुगमन

बाँके । औषधी व्यवस्था विभाग नेपालगन्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी रुपमा अनुगमन हुन सकेको छैन । अनुगमनका अभावमा कम गुणस्तर र म्याद सकिएका तथा विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्र बिना बिक्री गर्न नपाइने औषधीहरु पनि बिक्री भइरहेको पाइन्छ ।

विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ वटा जिल्ला रहेको छ । तर, अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन् । विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि रहेको छ । औषधी व्यवस्था विभाग दुरदराजका गाउँहरुमा अनुगमनका लागि नपुग्दा मनपरीको गुनासो आउने गरेको छ ।

तर, जनशक्ति नभएकै कारण सबै ठाउँमा अनुगमनका लागि विभागको टोली पुग्न सक्दैन । बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुई जनाको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधी बिक्री भएको खुलेको थियो । त्यहाँ न त त्यहाँको मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधी नै ।

‘उजुरी र गुनासो आएका ठाउँमा अनुगमनमा प्राथमिकता दिने गरेका छौं,’ औषधी व्यवस्था विभाग नेपालगन्ज शाखाका प्रमुख निनु श्रेष्ठले भनिन्, ‘कार्यक्षेत्र ठूलो र जनशक्ति कम हुँदा सबै ठाउँमा अनुगमनका लागि पुग्न सकिएको छैन ।’ उनी जनशक्तिले भ्याएसम्म फार्मेसी तथा मेडिकलहरुको अनुगमन गरिरहेको बताउँछिन् ।

अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्ड बमोजिम छन् वा छैनन् भन्ने एकीन गर्न सकिने अवस्था छैन । जिल्ला जिल्लामा संयुक्त बजार अनुगमन समिति छन् । गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधीबाहेकका औषधी बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन । यसरी मनपरी मौलाइरहेको आशंका गर्न सकिन्छ ।

अझ बाँके जस्तो भारतसँग सीमा जोडिएको जिल्लाहरुमा बेथिति हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । औषधी व्यवस्था विभाग नेपालगन्जमा मात्रै २५ जिल्लाका चार हजार बढी औषधी बिक्रेता दर्ता रहेका छन् । त्यसबाहेक गाउँहरुमा मनपरीरुपमा दर्ता नै नगरी औषधी पसल चल्ने गरेको बाँकेको नरैनापुरको घटनाले देखाइसकेको छ ।

तर, गाउँसम्म पुग्न विभागसँग जनशक्ति छैन । ‘नरैनापुरका प्रत्येक वडामा औषधी बिक्रेता छन्,’ नरैनापुरका विनय दीक्षित भन्छन्, ‘अनुगमन नहुँदा उनीहरु कानुनी हुन् वा होइनन् स्थानीयले कसरी ठम्याउने ?’ यस्ता कति गाउँमा दर्ता विनाका मेडिकल सञ्चालन होलान् हेर्ने दह्रो निकाय पाइँदैन ।

‘दर्ता पसलमा बिक्रीका लागि राखिएको औषधी जाँच मात्रै गर्नका लागि पुग्ने जनशक्ति छैन,’ शाखा प्रमुख श्रेष्ठ भनिन्, ‘तीन जना निरीक्षक सबै ठाउँ पुग्न सम्भव छैन ।’ मेडिकल दर्ताको जिम्मेवारी पनि कार्यालयमै भएकाले विभिन्न जिल्लाबाट आउने सेवाग्राहीलाई सेवा दिन कम्तीमा चार जना कर्मचारी कार्यालयमै रहनुपर्ने उनको भनाई छ ।

‘विभागले हेरेन भन्ने गुनासो आउँछ, हाम्रो जिम्मेवारी पनि हो, तर जनशक्ति कम हुँदा सबै ठाउँ पुग्न नसकेका हौं,’ श्रेष्ठले भनिन् । संघीयतापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा पनि छ । तर, सबै स्थानीय तहले अनुगमन समिति बनाएका छैनन् । बनाएका स्थानीय तहसँग पनि सबै क्षेत्रका विज्ञ उपलब्ध हुने अवस्था छैन ।

‘स्थानीय तहले पनि फार्मेसी निरीक्षकसहितको अनुगमनको व्यवस्था गर्नुपर्छ,’ शाखा प्रमुख श्रेष्ठले भनिन्, ‘स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय निकायमा छ, कम्तिमा फार्मेसी निरीक्षकको व्यवस्था हुने हो भने बेथिति छ, छैन अनुगमन र भए नियन्त्रण गर्न सहज हुन्थ्यो ।’ यसबर्ष विभागले गरेको अनुगमनमा चार वटा मुद्दा दर्ता भैसकेका छन् ।

‘प्रथम चौमासिकमा विभागको यस शाखाबाट चार मुद्दा दर्ता गरिएका हुन्,’ श्रेष्ठले भनिन्, ‘नरैनापुरका गरिएको अनुगमनमा मुचुल्का गरिएको छ, विभागमा औषधी लिष्ट पठाएका छौं, रिपोर्ट आएपछि निरीक्षकबाट कानुनी कारवाही अघि बढ्छ ।’

‘झोले चिकित्सक’ विरुद्ध मुद्दा

बाँकेको नरैनापुर–५ का एक जना स्वघोषित चिकित्सकविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । चिकित्सकको उपचारकै कारण दुईको मृत्यु भएको आशंका पछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो । आरोपित चिकित्सक भने फरार रहेका छन् ।

मङ्सिर दोस्रो साता ‘झोले चिकित्सक’ भारत श्रावस्ती जिल्लाको मनकौराका राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० बर्षिय गयाराज धोबी र राप्तीसोनारी–७ गेंदवाका २८ बर्षिय मालिकराम धोबीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बाँके प्रशासन र औषधी व्यवस्था विभागले समेत मेडिकलमा छापा मारेको थियो ।

त्यसक्रममा दुई मेडिकलको औषधी बरामद र एउटा मेडिकललाई शिल गरिएको थियो । ‘अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा बोल्न मिल्दैन,’ इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले भने, ‘मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०८:१४