फाइल तस्वीर
बाँके । अर्गानिक र ताजा भएपछि पछिल्लो समय नेपालगन्जमा नेपालमै उत्पादन हुने तरकारीको माग बढेको छ । माग बढेसँगै नेपालगन्जमा दाङ, बर्दिया, सुर्खेत, दैलेख, रोल्पा र सल्यान लगायतका जिल्लाबाट तरकारी आउने गरेको छ ।
प्रदेश नं ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट तरकारी आउन थालेपछि भारतबाट आउने तरकारीको मात्रा पनि घटेको नेपालगन्ज तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । नेपालगन्जमा विशेषगरी सल्यानको कपुरकोट र अन्य पहाडी जिल्लाको तरकारीले राम्रो बजार लिने गरेको अकरम थोक तरकारी पसलका व्यवस्थापक मोबिन सल्मानीले बताए ।
आम उपभोक्ताको मागका आधारमा नेपालगन्जका व्यापारीले अहिले भारतकोभन्दा नेपालमै उत्पादित विभिन्न जिल्लाको तरकारी बढी ल्याउने गरेको सल्मानीले बताए । उनका अनुसार वर्षको झण्डै २०० क्विन्टल तरकारी सल्यान कपुरकोट लगायत रोल्पा, दैलेख, बाँके, बर्दिया, दाङ, सुर्खेतबाट नेपालगन्जमा आयात हुने गरेको छ ।
उपभोक्ताको पहिलो रोजाइ नेपालकै तरकारी हुने गरेकाले आयात हुने गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१३ की सीता पौडेलले भारतको तरकारीभन्दा पहाडको तरकारी अर्गानिक हुने र विषादीको मात्रा पनि कम हुने भएकाले आफ्नो पहिलो रोजाइमा पर्ने गरेको बताइन् ।
सत्यपाटी ।