बाँके । उपभोक्त समितिमार्फत गरिने पूर्वाधार विकास निर्माणका कामहरुलाई गुणस्तरीय र प्रभावकारी बनाउन बाँकेको जानकी गाउँपालिकाले उपभोक्ता समितिलाई तालिम दिन थालेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन हुने विकासका योजना कार्यान्वयन गर्न वडास्तरमा गठित उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिन थालेको हो ।
योजना कार्यान्वयनमा अपनाउनुपर्ने आवश्यक ज्ञान सीपवारे जानकारी दिन उपभोक्ता समितिलाई लक्षित गरी तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । विगतमा कतिपय उपभोक्ता समितिका पदाधिकारीले विकास निर्माणका कार्यमा गुणस्तरीयता कायम गर्न नसकेको पाइएकोले यो वर्ष सजकता अपनाइएको उनको भनाई छ ।
गाउँपालिकाको वडा नं. १ साईगाउँ र वडा नं. २ बेलभारमा गठित उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण तालिमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले विकास निर्माणका काम गर्दा विनियोजित बजेट र कार्यक्रम अनुसार कुनै पनि भेदभाव र अनियमितता नगर्न अनुरोध गरे ।
विकासका काम कहिँकतै अनियमितता भए तत्काल कार्वाही गर्न आफू बाध्य हुने उनले बताए । गाउँपालिकाका सबै वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई उपभोक्ता समितिको काम, कर्तव्य र उत्तरदायित्वसँगै योजनाका प्रक्रियाका बारेमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत खत्रीले योजना कार्यान्वयनको जिम्मा र लाभ लिने पनि स्थानीय बासिन्दा भएकोले निर्माणमा स्थानीयले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए । तालिममा प्रमुख प्रशासकीय अधिकृत खत्री, योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, योजना शाखाका राजेन्द्र बाजपेयी लगायतले सहजीकरण गरेका थिए ।
सो अवसरमा वडा नं.१ का अध्यक्ष मोहमद रजा राई, वडा नं.२ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास संयोजक राजकुमार धोवी लगायतले उपभोक्ता समितिको जिम्मेवारी र भूमिका ठूलो हुने भएकोले इमान्दारिताका साथ गुणस्तरीयता कायम गरी योजना सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
सत्यपाटी ।