सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा लैगिंक हिंसाको डरलाग्दो तथ्यांक, चार महिनामा २१ वटा बलात्कारका घटना

प्रतिकात्मक तस्वीर

बाँके । बाँकेमा लैंगिक हिंसाको डरलाग्दो तथ्यांक देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको पछिल्लो तीन बर्षको तथ्यांक अनुसार एक हजार ४५३ वटा विभिन्न हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तथ्यांक अनुसार एक हजार १५५ वटा सामाजिक हिंसाका घटना मिलापत्रमा टुङ्गिएका छन् । यस्तै गत तीन वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटनामध्ये १६० वटा घटनामात्रै सम्बन्धित निकाय अर्थात स्थानीय तह तथा अदालतमा गएको बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

लैंगिक हिंसाविरुद्ध वार्षिक लाखौं बजेट खर्चेर पनि लैगिंक हिंसाका घटना कम हुनुको साटो बढिरहेका पाइएको हो । प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को कात्र्तिक मसान्तसम्म २०२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेका छन् । जसमा सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका घटना १७६ वटा छन् ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा भने उजुरीको संङख्या बढेर ७११ पुगेको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमतीबीचका घटना ५१२ वटा रहेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा ४८३ वटा घरेलु हिंसाको ठाडो उजुरी परे, यीमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमतीबीचका घटना ३०८ वटा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान–श्रीमती, सासु–बुहारी, देवरानी–जेठानी र अन्यका बीचमा भएको झै–झगडाका घटनाहरु हुने गरेका छन् । जसमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमतीबीच भएको झगडाका घटना बढी दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बलात्कारका घटना बढे

महिला तथा बालबालिका सेवा केन्द्र बाँकेका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा बाँके जिल्लामा ३५ जना बलात्कृत भएका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बलात्कृत हुनेको संख्या ५६ पुगेको थियो भने चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म २१ जना बलात्कृत भएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३९ जनामाथि बलात्कारको प्रयास भएको प्रहरी तथ्यांकले बताएको छ । जसमा २२ जना बालिका आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुर्व्यवहारमा परेका छन् ।

यस्तै आर्थिक वर्ष २०७४/०७५ देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अर्थात पछिल्लो तीन वर्षमा ७७३ जना महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्र बाँके जनाएको छ । बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक भएका कारण बलात्कारको घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको बताउँछन्, प्रहरी उपरीक्षक ओली । उहाँले भने, ‘बलात्कारका बारेमा अहिले खुलेर विरोध गर्ने अवस्था आएको छ । मानवअधिकारका बारेमा मानिस सजग हुँदै गएका छन् ।’

अपराध लुकाउनु हुन्न भन्ने धारणा बढिरहेकोले पनि घटना धेरै बाहिर आउने गरेको बताउँदै प्रहरी उपरीक्षक ओलीले भने, ‘लामो समयसम्म पुरुष र महिलासँगै बसिरहेका हुन्छन् । सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेका छन् । केही घटनामा आर्थिक कुरा जोडिएका हुन्छन् ।’

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०९:३१