
कास्की । कास्की २ प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनको मतगणनाबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । कास्की–२ बाट दुई पटक संविधानसभा र एक पटक प्रतिनिधिसभामा गरी नेकपाबाटै स्व. रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्र हो ।
रवीन्द्रको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त बनेको क्षेत्रमा नेकपाले उनकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो । पूर्वएमाले निकट अनेरास्ववियूबाटै विद्यार्थी राजनीतिमा उदायकी विद्याको थप राजनीति यात्रासँगै रवीन्द्रको विरासत जोगाइ राख्ने भारसमेत थपिएको छ । विगतका निर्वाचनमा रवीन्द्रले पाएको मतभन्दा उपनिर्वाचनमा विद्याले पाएको मत ‘पपुलारिटी’का हिसाबले फरक छैन ।
कास्की–२ मा सदर मत ४४ हजार ९४६ को पुरै ५२.२७ प्रतिशत जनमत उनले प्राप्त गरेकी छन् । ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रवीन्द्रको दुई प्रतिशत मात्रै धेरै थियो । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने १५ हजार ९९१ मत प्राप्त गरे । स्थायी मतदाता र विद्याले रवीन्द्रका एजेन्डालाई निरन्तरता दिने प्रतिवद्धतालाई कास्की–२ का मतदाताले अनुमोदन गरी पठाइदिएका छन् । लामोसमय प्राज्ञिक क्षेत्रमा अनुभव कमाएकी विद्या सैद्धान्तिक ज्ञानले समेत निपूर्ण छिन् भन्ने कुरा पार्टी र मतदातामाझ प्रमाणित गरेकी छन् ।
शिष्ट शैलीमा थालिएको चुनावी प्रचारकै क्रममा उनका अभिव्यक्ति र भाषणले नेकपाकै शक्तिशाली महिला नेताको रुपमा उदाइरहेको आम मतदाताले अर्थ्याएका थिए । विजयी घोषणापछि लगत्तै उनले भनिन्, ‘मतदाताले दिनुभएको भरोस विश्वासलाई अडिग रहेर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ दुःखद् क्षणबाट निम्तिएको उपनिर्वाचनमा जनताले दिएको अभिमतलाई आगामी दिनमा निरन्तरता दिने उनले बताइन् । ‘प्राप्त जनमत रवीन्द्र अधिकारप्रतिको सम्मान । कम्युनिष्ट पार्टी र विद्या भट्टराईप्रतिको भरोसा भन्ने ठानेकी छु,’ उनले भनिन् ।
सत्यपाटी ।