बाँके । देशभर ३७ जिल्लाका ५२ सीटमा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएसँगै मत परिणाम आउन सुरु भएको छ । यसपटक अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित ४८ स्थानीय तहमा पनि मतदान भएको छ ।
कुल ५२ पदका लागि भएको चुनावमा कुल ४ लाख ५४ हजार ११४ मतदाता थिए । तर, २ लाख ९७ हजार १३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका छन् । यो सरदर ६५.४३ प्रतिशत हो । सबैभन्दा बढी हुम्ला र रौतहटमा ८५ प्रतिशत मत खसेको छ ।
हुम्लाको खार्पुनाथको उपाध्यक्षका लागि उपचुनाव भएको थियो । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव भएको कास्की २ मा ६३.४८ प्रतिशत मत खसेको छ । यस्तै भक्तपुरमा ७०, बाग्लुङमा ६१ र दाङ ६७ प्रतिशत मत खसेको छ ।
धरान उपमहानगरमा ५९.१३ प्रतिशत खसेको छ । रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षका लागि भएको चुनावमा १६.४ प्रतिशत मत खसेको छ । यो उपचुनावमा खसेको सबैभन्दा कम प्रतिशत मत हो । रोल्पाको थवाङ र कञ्चनपुरको पुनर्वासको नतिजा नेकपाको पक्षमा गएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपचुनावमा अपेक्षाअनुसार मत नखसेको स्वीकार गरे । ‘धरानमा हामीले भनेजति मत खसेन । प्रतिनिधिसभा र प्रदेशसभामा पनि लगभग ६५ प्रतिशत मत खसेको छ । यो ७० हाराहारी हुन्छ भन्ने हाम्रो आँकलन थियो,’ उनले भने ।
यद्यपि यसैकारण उपचुनाव प्रभावकारी भएन भन्न नमिल्ने थपलियाले बताए । मतदानका क्रममा कास्की, दाङ, सर्लाही लगायतका पाँच स्थानमा मतदान केन्द्र नजिकै बिस्फोटका घटना भए पनि त्यसले मतदानलाई असर नगरेको आयोगले जनाएको छ ।
ती घटनामा कुनै हताहती भएन । आयोगका अनुसार मतपेटिका संकलनसँगै सर्बदलीय बैठक राखेर मत गणना सुरु हुनेछ । र, १२ घन्टाभित्र ५० प्रतिशत स्थानको मत परिणाम पनि आइसक्नेछ ।
सत्यपाटी ।