सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन २०७६ : कोहलपुरमा एक हजार ६३४ मत खस्यो, नतिजा आजै

बाँके । बाँकेको कोहलपुर वडा नं. ६ मा वडाध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनमा कुल ८० दशमलव ६५ प्रतिशत अर्थात् एक हजार ६३४ मत खसेको छ । जसमा ७५१ जना पुरुष र ८८३ महिलाले मतदान गरेका छन् । दुई हजार २६ मतदाता रहेकोमध्ये ३९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए ।

निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना नभएको बताउँदै उनले भने, ‘शान्त र व्यवस्थित वातावरणमा निर्वाचन सकियो । मतगणना आजै साँझ सात बजेदेखि सुरु हुन्छ । हामी आजै राती १२ बजेभित्र अन्तिम मत परिणाम सार्वजनीक गर्नेगरी तयारीमा लागिरहेका छौं ।’ यस वडामा ६ जनाले वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । बैदेशिक रोजगारीमा घर छाडेका, जिल्लाबाहिर रहेका र केही वृद्धवृद्धा मतदानमा आउन नसकेको जनाइएको छ ।

यस वडामा वडाध्यक्ष पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट कृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मैदानमा छन् । मतदानमा राजनीतिक दलहरुले मतदातालाई एक मत पनि छुट्न नदिन मतदान स्थलसम्म ल्याएर मतदानमा सहभागी गराएका थिए ।

एक मत पनि छुट्न नदिनका लागि मतको ‘मूल्य’ रहेको भन्दै नेता तथा कार्यकर्ताहरु आफू समर्थित जेष्ठ नागरिक, असहाय, अपांगता भएका नागरिकलाई बोकेर ल्याइ मतदानमा सहभागी गराइएको थियो । आज बिहानैदेखि अनुशासित रुपमा लाइनमा बसेर मतदाताले मतदान गरेको निर्वाचनमा खटिएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख एवं प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक शाहीले राम्रो सुरक्षा व्यवस्था मिलाइएको र शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको बताए । नेपाली काँग्रेसका रामशरण थारुले ४२४ मत ल्याएर जितेको यो ठाउँमा थारुको २०७५ मंसिर ९ गते उनको निधन भएपछि मतदान भएको हो । अहिले वडाध्यक्ष पदका लागि नेकपा, काँग्रेस र राप्रपाबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । काँग्रेसले कुनै पनि हालतमा नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेको छ ।

काँग्रेसले आफ्नो बिरासत मानेको यो ठाउँमा एमाले र माओवादी केन्द्र मिलेपछि पहिलो पटक स्थानीय निकायमा चुनाव लडेकाले आफूहरु बलियो रहेको नेकपाको दावी छ । थारु मत विभाजन हुने र त्यसको फाइदा आफूलाई पुग्ने भन्दै निर्वाचन आफ्नो जीत सुनिश्चित रहेको राप्रपाको दावी छ । कृषि विकास बैंकको तालिम केन्द्र रहेको पिपिरीमा आजै हुने मतगणनाका लागि गणनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मतदान स्थलमा सुरक्षा दिइरहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार १७:१६