सूचनाको शक्ति - The Power Of Information

        

धान खरीद गर्न खाद्यलाई भ्याईनभ्याई, बिक्री गर्न पालो कुर्दै किसान

बाँके । सरकारले यसबर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान धान खरीद गर्न भ्याईनभ्याई भएको छ । धान बिक्री गर्ने किसानहरुको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ ।

दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनुपर्ने अवस्था आएको छ भने निश्चित कोटा तोकेर खरिद खुला गरेको खाद्यमा किसानहरुले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ ।

खाद्यले ३५ हजार क्वीन्टल धान खरीद गर्ने कोटा निर्धारण गरेर गत कात्तिक २७ गतेदेखि खरिद सुरु गरिएको थियो । हालसम्म १० हजार क्वीन्टल धान खरिद गरिएको खाद्यले जनाएको छ । यसबर्ष मोटो धानको रु.दुई हजार ५३२ पैसा ८० र मध्यम धानको रु.२ हजार ६७३ पैसा १६ प्रतिक्वीन्टल तोकिएको छ ।

यसबर्ष तोकिएको धानको मूल्य गतवर्षको भन्दा रु.२०० ले बढी हो । धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड पुगेका नेपालगन्ज–१९ का किसान तीर्थराम कलवार सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेकाले आफुले उत्पादन गरेको धान खाद्यमा बिक्रीका लागि ल्याएको बताए ।

उनीसँगै भेटिएका नेपालगन्ज–१९ कै अर्का किसान शालिकराम कोरीले बाह्य व्यापारीको तुलनामा खाद्यले खरिद गर्ने धानको मूल्य किसानको हितमा भएकाले आफुहरु बिक्रीका लागि आएको बताए । चार वटा काँटाबाट तौल गरेर रात दिन खट्ने गरे पनि किसानले भने धान बिक्रीका लागि केही समय कुर्नैपर्ने बाध्यता देखिएको छ ।

व्यापारीले भन्दा सरकारले धानको मूल्य बढी निर्धारण गरेपछि धान बिक्री गर्ने किसानको घुइँचो लागेको छ । धान बिक्रीका लागि किसान राति १ बजेदेखि संस्थान अगाडि किसानहरु लाइन लाग्ने गरेका छन् । डुडुवा गाउँपालिका–५ कम्दीका रामसेवक यादवले धान बिक्रीका लागि राति १ बजेदेखि लाइनमा बसेको बताए ।

उनले पालो छिटो पाइने आशामा बिहानैदेखि ट्रयाक्टरलाई लाइनमा बसालेको बताए । ट्रयाक्टरमा धान ल्याएका किसानले दुई–तीन दिनपछि मात्र पालो पाउने गरेका छन् । ‘बिहान १ बजेदेखि लाइनमा बस्दा पनि कम्तीमा तीन दिनपछि मात्र पालो आउँछ,’ ट्रयाक्टर लाइनमा लगाएर संस्थानको आँगनमा पालो कुरेर बसेको यादवले बताए ।

संस्थानले मूल्य बढी दिएपछि गाउँमा धानको खरिद–बिक्री कम भएको छ । गाउँमा फाटफुटरुपमा खरिद–बिक्री भए पनि किसानले सिधै खाद्यमा ल्याएर धान बिक्री गरेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका रामगोपाल चौधरीले बताए । उनले अघिल्लो वर्षजस्तो यसवर्ष गाउँमा धानको खरिद–बिक्री नभएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड नेपालगन्जका प्रमुख भरतराज खनियाले खरिद खुला गरेपछि धान बिक्री गर्ने किसानको चाप बढ्दै गएको बताए । उनले दैनिक २५ वटा ट्रयाक्टर र त्यही अनुपातमा लडियामा धान राखेर किसान आउने गरेको बताए । खाद्यले धान खरिदका लागि तोकिएको कोटा पूरा गर्न दुई महीना लाग्ने अनुमान गरेको छ ।

यस बर्ष ३५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्यले गत वर्ष पहिलो चरणमा २५ हजार र पछि थप १० हजार गरी ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सरकारबाट पाएकोमा ३३ हजार क्विन्टल धान खरीद गरेको थियो । यसवर्ष सरकारले बजार मूल्यभन्दा बढी मूल्य दिएकाले खाद्यलाई धान खरिद गर्न सहज भएको प्रमुख खनियाँले बताए ।

उनले गत वर्षभन्दा यस वर्ष छिट्टै लक्ष्य पूरा हुने बताउँदै भने, ‘गतवर्ष माघसम्म खरिद गर्नुपरेको थियो, यसवर्ष पुससम्म पूरा हुने अनुमान छ । गत वर्षभन्दा मूल्य बढेको छ नै यसवर्ष बजार मूल्यभन्दा सरकारले बढी मूल्य निर्धारण गरेको छ ।’ कात्तिक २७ गतेबाट धान खरिद गर्न थालेको खाद्यले १५ दिनमा ९ हजार ९०३ क्वीन्टल धान खरिद गर्न सकेको छ ।

दैनिक सरदर ६ देखि ८ क्विन्टल धान तौल गर्न सकेको प्रमुख खनियाँको भनाइ छ । उनले चार ठाउँमा तौल गर्ने व्यवस्था मिलाए पनि प्रतिदिन एक ठाउँबाट २५० क्वीन्टल मात्र तौल गर्न सकिएको बताए । उनले तौल गर्ने ठाउँ नहुँदा सर्वसाधारण किसानलाई मर्का परेको पनि स्वीकार गरे । लेबर र तौल गर्ने ठाउँ अभाव भएको उनको भनाइ छ ।

एउटा काँटाले दैनिक ४०० क्वीन्टल तौल गर्नुपर्ने भए पनि कम तौल भइरहेको बताउँदै उहाँले लडियामा ल्याएका किसानलाई पहिलो प्राथमिकता दिने गरेको बताए । ‘लडिया तान्ने गोरु र राँगा भोकाउने भएकाले लडियामा ल्याएको धान सकभर सोही दिन तौल गरेर पठाउँछौं,’ प्रमूख खनियाले भने, ‘ट्रयाक्टरको पालो कम्तीमा दुई दिनपछि आउँछ ।’

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार १४:१५