बाँके । बाँकेको कोहलपुर–६ मा वडाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । कोहलपुर नगरपालिकाको वडा नं. ६ मा वडाध्यक्षका लागि मतदान भइरहेको हो । कडा सुरक्षा घेरामा मतदान भइरहेको छ । जिल्लामा एक ठाउँमा मात्रै मतदान भएकाले सुरक्षाकर्मी कोहलपुरमा सोहरिएका छन् ।
कांग्रेसका रामसोहन थारुले ४२४ मत ल्याएर जितेको यो ठाउँमा उनको असामयीक निधन भएपछि मतदान भएको हो । थारुको २०७५ मंसिर ९ गते मृत्यु भएको थियो । अहिले वडाध्यक्षका लागि नेकपा, कांग्रेस र राप्रपाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन वटै पार्टीले ‘प्रतिष्ठा’को लडाईँ मानिरहेका छन् ।
नेकपाबाट रामशरण थारु र कांग्रेसबाट कृष्ण थारुले प्रतिस्पर्धा गरिरहेका छन् भने राप्रपाबाट श्रीधर सुवेदी चुनावी मैदानमा छन् । थारु बाहुल्य रहेको यो ठाउँबाट तीनमध्ये कसले ‘बाजी’ मार्छन् त्यो भोलिसम्म बाहिर आउनेछ । कांग्रेसले आफ्नो बिरासत मानेको यो ठाउँमा एमाले र माओवादी केन्द्र मिलेपछि पहिलो पटक स्थानीय निकायमा चुनाव लडेकाले आफूहरु बलियो रहेको नेकपाको दावी छ ।
थारु मत विभाजन हुने र त्यसको फाइदा आफूलाई पुग्ने भन्दै निर्वाचन आफ्नो जीत सुनिश्चित रहेको राप्रपाको दावी छ । राप्रपाका उम्मेद्वार योग्य र सक्षम रहेको भन्दै जीत सुनिश्चित रहेको राप्रपाले जनाएको छ । एक–एक मतको ‘मूल्य’ रहेको भन्दै नेता तथा कार्यकर्ताहरु आफू समर्थित जेष्ठ नागरिकलाई बोकेर ल्याइ मतदान गराइरहेका छन् । बिहानैदेखि अनुशासित रुपमा लाइनमा लागेर स्थानीय मतदाताले मतदान गरिरहेका छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले राम्रो सुरक्षा व्यवस्थाका बिचमा मतदान भइरहेको बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मतदान स्थलमा सुरक्षा दिएका छन् । तीन दिनअघि निर्वाचन बहिष्कार गरौँ भन्ने टोलीले गाउँमा नारा लगाएपछि प्रहरीले दशजनालाई नियन्त्रणमा लिएर भोलिपल्ट छोडेको थियो । त्यस्तो समूहबाट निर्वाचनका बेलामा केही हुन सक्नेतर्फ प्रहरी सतर्क बनेको छ । कोहलपुरमा दुई हजार मतदाता रहेका छन् ।
सत्यपाटी ।