सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षित बासस्थान माग्दै बालापुरबासी

बाँके । गाउँमा बाघले मान्छे खान थालेपछि त्रसित बनेका बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुरका स्थानीयले सुरक्षित बासस्थानको माग गरेका छन् । बाँके राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षित बासस्थान माग गरेका हुन् ।

निकुञ्ज क्षेत्रका बासिन्दाले सुरक्षा जोखिम बढ्न थालेको भन्दै सुरक्षित बासस्थानको व्यवस्था गर्नुपर्ने बालापुरका स्थानीय देबबहादुर सिंहले बताए । उनले बालापुरबासीले त्रसित जिवन बिताउनुपरेको भन्दै सुरक्षित आवासको माग गरे । ‘सुरक्षित बासस्थानका लागि सरकारले पहल गर्नुपर्छ,’ उनले भने ।

निकुञ्ज नजिकका बस्तीका नागरिकहरुमाथि कतिबेला बाघले आक्रमण गर्छ भन्ने चिन्तामा त्रासमा जीवन बिताइरहेको लालसिंह बस्नेतको भनाई छ । ‘हिंस्रक बन्दै गएका वन्यजन्तुका कारण कतिदिन बस्तीका मानिस त्रासमा गुजारा गर्ने ? वन्यजन्तुका कारण भौतिक सम्पत्ति र खेतीबाली नोक्सानीको अवस्था पनि निकै दुखदायी बन्दै गएको छ,’ बस्नेतले भने ।

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयहरुको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँकेमा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका हुन् । वन्यजन्तुबाट सिर्जित मानव जोखिम, बस्तीका कष्ट र पछौटेपनको समुचित व्यवस्थापनका लागि सरोकारवालाहरुले चासो नदिएको स्थानीयको गुनासो छ । जसका कारण प्रभावित जनताले जनधनको जोखिम बेहोर्नुपरेको छ । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् ।

निकुञ्ज क्षेत्रमा बाघ आक्रमणका घटना बढ्दै गएको र मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्न थालेसँगै स्थानीयहरुसँग छलफल गर्न गाउँ पुगेका बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ र प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ले स्थानीयबासीलाई सुरक्षित बासस्थानको उत्तम विकल्प निकाल्न आग्रह गरे ।

उनीहरुले निकुञ्जले तत्काल प्रतिफल दिन नसके पनि भविष्यमा जिविकोपार्जनका लागि बस्ती स्थानान्तरण गर्न चाहेमा त्यसका लागि पहल गर्ने बताए । उनीहरुले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सर्तक र सजग रहन आग्रह गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न आवश्यक पहल गर्ने बताए ।

एक महीनाअघि मात्रै दुई दिनको अन्तरमा बाघको आक्रमणबाट बालापुर र खड्कवारमा दुई महिलाको मृत्यु भएपछि स्थानीयहरु थप त्रसित बनेका छन् । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ बर्षिया काली बस्नेत र कात्तिक २७ गते राप्तीसोनारी–८ बालापुरकी ६० वर्षिया ठगी खड्काको मृत्यु भएको थियो ।

२०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सात जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँकेमा मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिकहरु त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ ।

निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । संरक्षित वन क्षेत्र पर्याप्त देखिए पनि वन्यजन्तु बस्तीमा मात्र होइन, शहर पस्न थालेपछि चुनौति देखिएको उनको भनाई छ ।

निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।

वन्यजन्तुबाट हुने क्षतिवापत सरकारले क्षतिपूर्ति दिने गर्छ । निर्देशिका अनुसार मानव मृत्यु, अंगभंग, खेतीबाली नोक्सानी र पाल्तु जनावरको क्षतिमा क्षतिपूर्तिको व्यवस्था छ । तर, न्यून रहेको क्षतिपूर्ति व्यवस्थाभन्दा वन्यजन्तु बस्तीमा आउन रोक्नु उत्तम उपाय भए पनि निकुञ्जले बस्तीको आसपासमा तारबार वैकल्पिक व्यवस्था गर्न नसकेको स्थानीयहरुको गुनासो छ ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव–वन्यजन्तु बढ्न थालेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाई छ । ‘बाघ र अन्य वन्यजन्तुहरु निकुञ्जबाट मानव बस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौति थपिएको छ,’ उनले भने, ‘मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सम्बन्धीत निकायले दीर्घकालिन रणनीति बनाएर लाग्नुपर्छ ।’

संरक्षित जनावरको आक्रमणबाट मृत्यु भएका परिवार र अंगभंग भई अपांगता भोगेकाहरुलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउनुपर्छ । बाँके निकुञ्जमा २१ र बर्दिया निकुञ्जमा ८७ वटा पाटेबाघ रहेको सरकारी तथ्यांक छ । बाघको संख्या बढे पनि आहारा कम हुँदा मानव वस्तीमा पुगेर वन्यजन्तुले आक्रमण गर्न थालेको स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार १०:३८