सूचनाको शक्ति - The Power Of Information

        

झ्याउमा प्रतिबन्ध लगाउँदा करोडौं घाटा

बाँके । झ्याउ संकलन तथा निकासीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न यहाँका व्यवसायीहरुको माग छ । राज्यले हचुवाको भरमा झ्याउ संकलन तथा निकासीमा प्रतिबन्ध लगाउँदा आफ्नो लगानी डुबेको भन्दै जडीबुटी व्यवसायीहरुले वैज्ञानिक अध्ययन गरी संकलन तथा निकासीको वातावरण मिलाउन सरकारसँग माग छन् ।

‘राज्यले झ्याउ संकलन तथा निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरुले आफूहरु मारमा परेको बताएका छन् । ‘राज्यले नीति बनाउँदा व्यवसायीदेखि स्थानीयस्तरको संकलकसम्मको हितमा हुने गरी नीति बनाउनुपर्छ,’ व्यवसायीहरुले भने । व्यवसायीसँग परामर्श नगरेरै हचुवाका भरमा निकासी र संकलन गर्न बन्द गरिदिँदा व्यवसायी मारमा परेको बताउँछन् ।

रुखको साहारामा पलाउने तेस्रो प्रजातिको झ्याउ संकलन र निकासीमा सरकारले रोक लगाएपछि वर्षेनी करोडौ राजस्व गुम्दै आएको छ । साइटिस सूचिमा नपरेको झ्याउलाई सरकारले विनाकारण संकलन र निकासी बन्द गरेको व्यवसायीहरु बताउँछन् । निकासीमा रोक लगाउँदा वर्षेनी करोडौं राजस्व संकलन हुने झ्याउ जंगलमा खेर गइरहेको छ ।

वार्षिक रुपमा जंगलमा उत्पादन हुने झ्याउको अवस्था अध्ययन नहुँदा झण्डै ११ वर्षदेखि करोडौं राजस्व खेर गएको व्यवसायीहरु बताउँछन् । कहाँ कति छ भन्ने अवस्था पत्ता लगाई संकलन र निकासी खुला गर्नुपर्ने जडिबुटी व्यवसायी कैलाश शर्माको भनाई छ । झ्याउ हुनु र नहुनुमा कुनै बैज्ञानिक र पर्यवरणीय आधार नभएको उनी बताउँछन् ।

झ्याउ पिछडिएका, गरीब र तल्लो वर्गले संकलन गर्ने भएकाले खुला गरे उनीहरुको जिविकोपार्जनमा सहयोग पुग्ने शर्माले बताए । जंगलमा पाइने वस्तुलाई दुरुपयोग गर्न नहुने तर सदुपयोग गर्न नपाउने भए जंगलको अर्थ नहुने भन्दै बिना आधार निकासीमा रोक लगाउँदै झ्याउ संकलन गर्दा रुख काटिन्छ भन्ने आधार सही नभएको उनको भनाई छ ।

झ्याउको प्रयोग अचार तथा मसलाको रुपमा गरिने जडिबुटी व्यवसायीहरु बताउँछन् । भारतमा त्यसको माग रहेकाले खेर जानुभन्दा संकलन गरेर बेच्नु नै सदुपयोग हुने व्यवसायीहरुको भनाइ छ । संकलन वन्द गर्नुले वातावरणमा पार्ने राम्रा र नराम्रा असरलाई उल्लेख गरी खुला गर्न व्यवयासीहरुले सरकारसाग माग गरेका छन् ।

‘झ्याउ जंगलमा त्यसै खेर गइरहेको छ । हिउँद लागेपछि रुखमा टाँसिएर देखिने झ्याउ बर्षायाममा कुहिएर पानीसँगै बग्छ,’ प्रदेशसभा सदस्यसमेत रहेका नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मो.याकुव अन्सारीले भने, ‘झ्याउ प्रत्येक बर्ष ‘सिजन’मा संकलन गर्नुपर्छ नत्र त्यो नष्ट हुन्छ ।’

जडिबुटी व्यवसायी सञ्जय जैनले रुखमा पाइने झ्याउ निकासीमा सरकारले बिनाकारण रोक लगाएपछि बार्षिक करोडौं राजश्वमा समेत घाटा भइरहेको अध्यक्ष अन्सारीले बताए । उनले भने, ‘झ्याउ हरेक बर्ष संकलन गर्ने हो भने मात्रै काम लाग्छ, संकलन नगर्ने हो भने कुहिएर रुखमै सडेर बर्षा लागेपछि पानीसँगै बगेर खेर जान्छ ।’

वनस्पति विभाग र जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेडको सिफारिसमा सरकारले २०६७ पुस २६ गते राजपत्रमा सूचना प्रकाशित गरी निकासी बन्द गरेको थियो । जडिबुटी व्यवसायी संघका अध्यक्ष अन्सारीले संघले झ्याउको संकलन र निकासी सूचारु गर्न पहल गरिरहेको जानकारी दिए ।

सरकारले जडिबुटी झ्याउ संकलन र निकासीमा प्रतिबन्ध लगाएपछि करोडौंको जडिबुटी जंगलमै नष्ट भइरहेको जडिबुटी व्यवसायीहरु बताउँछन् । सरकारले झ्याउ संकलन रोकेपछि अहिले जंगलमा करोडौं मूल्यका जडिबुटी त्यसै खेर गइरहेको यहाँका जडिबुटी व्यवसायीहरु बताउँछन् । झ्याउ बुट्यानमा लाग्ने गर्दछ ।

सरकारले झ्याउ संकलन गर्दा बुट्यान नष्ट गर्न सक्ने सम्भावना रहेको भन्दै संकलनमा रोक लगाएको हो । तर, जडिबुटी व्यवसायी शर्मा झ्याउ बुट्यानमा लाग्ने ‘लेउ’जस्तै भएकाले यसको संकलनले बुट्यानमा कुनै असर नपर्ने भन्दै झ्याउ संकलन नगर्दा संकलनकर्ताले रोजगारी, जडिबुटी व्यवसायीले कारोबार र सरकारले राजश्व गुमाइरहेको बताए ।

‘झ्याउ संरक्षण हुने भए हाल रोके पनि भविष्यमा त्यसलाई उपयोग गर्न सकिन्थ्यो,’ जडिबुटी व्यवसायी टंकप्रसाद शर्माले भने, ‘तर, झ्याउ सिजनमा संकलन नगर्ने हो भने नष्ट भएर खेर जान्छ, हाल त्यही भइरहेको छ ।’ जडिबुटी व्यवसायी सञ्जय जैनले झ्याउ संकलन गरेर जीविकोपार्जन गर्नेहरुको रोजगारीसमेत गुमेको बताए ।

झ्याउ ठुलो रुखमा नभई बुट्यानमा मात्र हुने गर्दछ । ढुसी र लेउ मिलेर तेस्रो प्रजातिको झ्याउ बन्छ । नेपालमा मात्र पाइने झ्याउ इन्डेमिक प्रजाति हो । पर्यवरणीय आवश्यकताभन्दा पनि झ्याउ बृद्धि हुन समय लाग्ने, चाहेर उत्पादन गर्न नसकिने र वायू प्रदुषणले यो लोप हुने भएकाले संकलन रोक्नु उचित नभएको व्यवसायीहरुको भनाई छ ।

मनोमानी हिसावले रुख काटिन्छ भनेर झ्याउ संकलन रोक लगाउँदा राज्यले आफ्नो श्रोत गुमाएको व्यवसायीहरुको भनाई छ । नेपालको झ्याउ भारतमा निर्यात हुने गरेको तथ्याङक छ । साइटिसको सूचीमा नपरेको झ्याउलाई लोठ सल्ला, सुगन्ध कोकिला, जटामसी, सर्पगन्धाजस्ता जडिबुटीसँग तुलना गरेर प्रतिवन्ध लगाउनु गलत भएको व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार १०:२६