सूचनाको शक्ति - The Power Of Information

        

सेतो बिरालो चोरिएपछि तनाव !

बाँके । नेपालगन्ज–१, धम्बोझीका मोबिन सिद्दीकीले ६ महिनाअघि रु.३० हजारमा किनेको व्हाइट पर्सियन क्याट (सेतो बिरालो) किनेका थिए । सेतो बिरालोलाई निकै स्याहार गरेका पालिएको थियो । सेतो बिरालोकै कारण शुक्रबारदेखि मोबिनलाई निकै तनाव भइरहेको छ ।

सुर्खेतरोडमा रहेको घर बाहिरबाट शुक्रबार दिउँसो १२ बजेतिर सेतो बिरालो चोरी भयो । ‘भारतीय नम्बरको मोटरसाइकलमा आएका २ जनाले योजनाबद्ध ढंगबाट बिरालो चोरेको देखिन्छ,’ सिसिटिभी फुटेज हेरेपछि मोबिनले भने, ‘भारतीय युवाहरुले गलत दिशाबाट बाइक ल्याएर मेरो घरको व्हाइट पर्सियन क्याट उठाएर लगेका छन् ।’

आफूले परिवारको सदस्यका रुपमा ६ महिनादेखि काखमा हुर्काएको सेतो बिरालो पूर्वयोजना अनुसार बिरालो चोरेको जानकारी दिँदै मोबिनले त्यसबारे प्रहरीलाई जानकारी गराएको बताए । सिसिटिभी फुटेज हेर्दा पूर्वयोजना अनुसार बिरालो चोरेको देखिन्छ । प्रहरी कहाँ अलि ढिलो खबर भयो, हेरौं फेला पार्न सकिन्छ की !,’

मोबिनले सेतो बिरालोका लागि विशेष खाना, स्याहारसुसार आवश्यक रहेकाले चोरी गर्नेले सामान्य बिरालोका रुपमा व्यवहार गर्नेमा चिन्ता गरे । ‘सामान्य बिरालोको रुपमा सुन्दर देखेर लगेको भए स्याहारसुसार हुँदैन ,’ उनले भने, ‘बरु फर्काइदिए कुनै कारबाही भन्दा धन्यवाद नै दिन्थें ।’

बिरालोको खोजीमा लागेका मोबिनले सिसिटिभी फुटेजका केही फोटोस्न्याप सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै सहयोगका लागि अपिल गरेका छन् । उनका अनुसार, युपी ४०–७४११ नम्बर देखिएको कालो होण्डासाइन मोटरसाइकल धम्बोझी चोक नजिकैको मोबिनको घर अगाडीबाट गलत साइडमैं आएर सेतो बिरालो उठाएर लगेको देखिन्छ ।

इभान्का नामको बिरालो छोरीको निकै मिल्ने साथी भएकाले तनावमा रहेका मोबिनले भने, ‘त्यो बिरालोमात्र होइन, हाम्रो घरको एउटा सदस्य पनि थियो ।’ मान्छेसँगै खाने सुत्ने इभान्कालाई छोरी जैनवले इभाका नामले बोलाउँथिन् । मोबिनले भने, ‘हाम्रो घरमात्रै होइन, छिमेकमैं अति प्यारो प्राणी थियो ।’ विरालो हराएदेखि छोरी निकै दुखी भएकी छन्, आफ्नो नजिकको साथी हराएजस्तै छोरी रोइरहेकी छिन् ।’

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०९:४९