सूचनाको शक्ति - The Power Of Information

        

‘विप्लव’ समुह निगरानीमा, सुरक्षा मजबुत

स्थानीय तहको उपनिर्वाचन २०७६

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । उपनिर्वाचनमा प्रतिबन्धीत नेकपा माओवादी ‘विप्लव’ समुहको चुनौतिलाई ध्यान दिँदै बाँकेको कोहलपुरमा प्रहरीले उच्च सुरक्षा अपनाएको छ । ‘विप्लव’ समुहको चुनौतिकै कारण कोहलपुर नगरपालिका–६ मा भोली हुने उपनिर्वाचनका क्रममा मतदाता र उम्मेद्वारहरुलाई सुरक्षाका लागि सबै प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उपनिर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाका सबै रणनीति अपनाइएको बताउँदै ‘विप्लव’ समुहलाई विषेश निगरानीमा राखिएको बताए । वडाध्यक्ष पदका लागि कोहलपुर नगरपालिका–६ मा हुने उपनिर्वाचनका लागि २०० जना सुरक्षाकर्मी खटाइएको छ ।

जसमा नेपाल प्रहरीले ८० जना, सशस्त्र प्रहरीका ७० जना र नेपाली सेनाले ५० जना बुथ केन्द्रका लागि खटाएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए । उनका अनुसार वडाभित्र प्रवेश गर्ने सबै नाकाहरुलाई उच्च निगरानीमा राखिएको छ भने वडाभित्र बाह्य सवारीसाधन पूर्णरुपमा निषेध गरिएको छ । साधा पोशाकमा सबै सुरक्षा निकायले सुरक्षाकर्मी परिचालन गरेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

उनले भन्नुभयो, ‘अहिलेसम्म कहीँकतैबाट थ्रेट आएको छैन, हामीले ‘विप्लव’ समुहलाई विशेष निगरानीमा राखेका छौं । सुरक्षा व्यवस्था मजबुत छ, मतदाताको सुरक्षाका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं, भोली पनि सबै मतदाताले निश्चिन्त र निर्धक्क भएर मतदान गर्ने वातावरण हामीले मिलाइसकेका छौं । मतदाताले ढुक्क भएर मतदान गर्नुहोला, सुरक्षामा कुनै कमी महसुस हुनेछैन ।’

मौन अवधि शुरु भएसँगे प्रहरीले गस्तीमा कडाइ गरेको उनले बताए । ‘यहाँ सवारीसँगै पैदल गस्ती तथा आकस्मिक चेकजाँच पनि सुरु गरिएको छ,’ उनले भने । मतदानस्थल तोकिएको वडा नं.५ को सिद्धार्थ आधारभूत विद्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली पठाइएको छ भने वडा नं.६ मा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । उनका अनुसार भोली आवश्यकता अनुसार थप मद्दतको लागि सबै सुरक्षा निकायले आ–आफ्ना टोलीसमेत तयारी अवस्थामा राखेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार २१:५९