सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको उच्च निगरानीमा कोहलपुर !

स्थानीय तहको उपनिर्वाचन २०७६

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । उपनिर्वाचन हुन दुई दिनमात्रै बाँकी हुँदा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । बुधबार र बिहीबार प्रहरीले कोहलपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ । निर्वाचन विरोधी गतिविधि गरेको आशंकामा १० जनालाई नियन्त्रणमा लिएर २४ घण्टापछि छाडिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

मंसिर १४ गते उपनिर्वाचनलाई विथोल्न निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए । उनका अनुसार पक्राउ पर्नेमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेका छन् । प्रहरी नायब उपरीक्षक शाहीले निर्वाचन विरोधी कार्य गरेको आशंकाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताए ।

‘कोहलपुर ६ मा उपनिर्वाचन बहिष्कारको पर्चा टाँसिरहेको अवस्थामा पक्राउ गरेका हौं । चुनाव बहिष्कार गर्ने भन्दै कार्यकर्ता खटाइएको रहेछ । हामीले पर्चा पम्पलेट पनि बरामद गरेका छौं,’ उनले भने, ‘निर्वाचन विरोधी गतिविधि नगर्न सचेत गराउँदै उनीहरुलाई निगरानीमा छाडेका छौं । निर्वाचन विरोधी गतिविधि गर्ने अन्य समुह तथा व्यक्तिहरु प्रहरीको उच्च निगरानीमा छन् । सुरक्षा व्यवस्था व्यवस्था कडा पारेका छौं ।’

पक्राउ पर्नेमा वैद्य माओवादीका पोलिटब्युरो सदस्य कोहलपुर–६ का भुपेन्द्र न्यौपाने शर्मा, केन्द्रीय सदस्य कोहलपुर–४ का तेजबिक्रम शाही, बाँके जिल्ला सचिव कोहलपुर–३ का प्रेम थापा, जिल्ला सदस्य नेपालगन्ज–१० का सुरेश वली, विद्यार्थी नेता हृदेश शाह, साधारण सदस्य खजुरा गाउँपालिका–२ का पुम पोखरेल, वडा नं.६ का तारा बिक, बर्दिया बाँसगढी नगरपालिका–९का धिरेन्द्र सिंह र ठाकुरबाबा नगरपालिका–२ का पविराम आचार्य र कोहलपुर नगरपालिका–३ का बिपिन रोकाय रहेका छन् ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उपनिर्वाचनको मौन अवधि सुरु भएसँगै सुरक्षा व्यवस्था झनै कडा पारेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षामा खटिएका छन् । उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय अनुसन्धान तथा सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । उपनिर्वाचनलाई लक्षित गरेर थप सुरक्षाकर्मी परिचालन गरेर पैदल तथा गाडीमा २४ सैं घण्टा गस्ती गर्नेे व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार १८:०२