सूचनाको शक्ति - The Power Of Information

        

सागको ओलम्पिक टर्च टोली नेपालगन्जमा

बाँके । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)का लागि ओलम्पिक टर्च बोकेको टोलीले र्‍यालीसहित नेपालगन्ज रंगशाला परिक्रमा गरेको छ । मंसीर ६ गते स्वयम्भुबाट निस्केर प्रदेश–१ हुँदै नेपालगन्ज आइपुगेको टोलीले ओलम्पिक टर्च बोकेर नेपालगन्ज रंगशाला परिक्रमा गरेको हो ।

टर्च र्‍यालीको देश दौडाहामा रहेको भेट्रान खेलाडीहरुमा जीतबहादुर केसी, कान्छीमाया कोजु, ज्ञानबहादुर बोहरा, मुकुन्द श्रेष्ठ, टीकाराम श्रेष्ठ र राजकुमारी पाण्डे रहेका छन् । नेपालगन्ज आइपुगेको टर्च र्‍यालीका सहभागीहरुलाई नेपालगन्ज रंगशालामा खेल पदाधिकारीहरुले स्वागत गरेका थिए । मंसिर १५ देखि २४ गतेसम्म १३ औं सागको देशभर नै प्रचार गर्न र र नेपालले धेरै पदक जितोस् भन्ने कामनासहित र्‍याली निकालिएको खेलाडीहरुले बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी जीतबहादुर केसीले भने, ‘नेपालमा साग हुँदैछ भन्ने देशव्यापी प्रचारका लागि टर्च लिएर निस्केका हौं ।’ टर्च र्‍याली विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत हुँदै नेपालगन्ज आइपुगेको हो । र्‍याली नेपालगन्जबाट धनगढीतर्फ प्रस्थान गर्ने र त्यहाँबाट पोखरा हुँदै काठमाडौं फर्किने धावक कान्छीमाया कोजुले बताइन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार १५:५०