सूचनाको शक्ति - The Power Of Information

        

‘झोले चिकित्सक’ले उपचार गर्दा दुईको मृत्यु, अवैध क्लिनिक बन्द गर्न निर्देशन

‘झोले चिकित्सक’का कारण दुई जनाको मृत्यु भएपछि नरैनापुर पुगेर पीडितहरुसँग भेटघाट गर्दै प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमूना’ ।

‘झोले चिकित्सक’का कारण दुई जनाको मृत्यु भएपछि नरैनापुर पुगेर पीडितहरुसँग भेटघाट गर्दै प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमूना’ ।

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० बर्षिय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ बर्षिय मालिकराम धोबीको मृत्यु भएपछि अवैधरुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो ।

नरैनापुर गाउँपालिकामा भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा गयाराज र मालिकरामको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको घरमा मुण्डन कार्यक्रममा सहभागी भएका गयाराज र मालिकरामले भोज खाएपछि बान्ता भएको र उपचार गर्न आएका ‘झोले चिकित्सक’ भारतीय नागरिक राजेश सिंहले विरामीको रोग पहिचान नगरेरै अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

‘भोज खाएलगत्तै बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले डाक्टर बोलाउनुभएछ,’ इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले भने, ‘उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको हो ।’ करिब २५ वर्षदेखि गाउँमा अवैधरुपमा उपचार गरेर क्लिनिक सञ्चालन गर्दै आएका भारतीय नागरिक राजेश सिंहले उपचारका क्रममा यसअघि पनि धेरैले ज्यान गुमाउनुपरेको स्थानीय मयाराम धोबीले बताए ।

उनले भने, ‘धेरै मान्छेको मृत्यु भयो तर जाँच नभएका कारण कुरा खुलेन ।’ हिजो मृत्यु भएका गयाराज र मालिकरामको शव परीक्षणपछि अन्त्येष्टी गरिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा गयाराज र मालिकरामको मृत्यु भएपछि प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमूना’ नरैनापुर पुगेर घटनास्थलको अवलोकन र पीडितहरुसँग भेटघाट गरेकी छन् । प्रदेश सभा सदस्य केसीले भनिन्, ‘अब यस्ता घटना दोहोरिनुहुन्न ।’ नरैनापुरमा रहेका अन्य अवैध क्लिनिकको अवलोकनपछि त्यस्ता क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिइएको उनले बताइन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार १३:५०