सूचनाको शक्ति - The Power Of Information

        

वातावरण स्वच्छ राख्न बझाङका जनप्रतिनिधिद्वारा नौं बुँदे प्रतिवद्धता

बझाङ । बझाङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले वातावरणमा पर्न सक्ने असरहरुलाई कम गर्दै स्वच्छ राख्न नौं बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समुहद्वारा आयोजित कार्यक्रममा बोल्दै यहाँका १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सामुहिकरुपमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन अनुसार आगामी दिनमा सडक निर्माण गर्दा सडक गुरुयोजना बनाइने, बन र वातावरणको क्षेत्रमा बजेट विनियोजन गरी विपद् कोषको स्थापना गर्ने, फोहोर व्यवस्थापन कार्यविधि बनाई डम्पिङ साइडको व्यवस्था गरिने, सेत नदि र जलाधार क्षेत्रमा फोहोर नफाल्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले बझाङ जिल्लामा जथाभावी सडक निर्माणका कारण वातावरणमा क्षति पुगेकाले आगामी दिनमा सडक विस्तार गर्दा दिगो र वातावरणलाई समेत मध्यनजर गर्दै वातावरणमैत्री सडक निर्माण तथा जुनसुकै काम गर्दा पनि वातावरण क्षेत्रलाई ध्यानमा राखेर गर्न स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बझाङ जिल्लामा डोजरको प्रयोग तथा सडक निर्माण गर्ने होडबाजी कम भएको र वातावरणीय मुल्याङ्कन गरेर आवश्यक ठाउँमा मात्रै सडक निर्माणका लागि डोजर प्रयोग गर्नुपर्नेमा जोड दिँदै जल, जलाधार, बनजस्ता क्षेत्रलाई बचाई राख्न स्थानीय तहहरुलाई आग्रह गरे ।

नेपाल वातावरण पत्रकार समुहका कोषाध्यक्ष सविन शर्माले बझाङ जिल्ला धेरै सम्भावना भएको जिल्ला भएकाले जलाधार वन लगायतका क्षेत्रहरुलाई बचाई राख्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने र आफूहरुले पनि सञ्चारमाध्यमबाट अभियानको काम गर्द आएको बताएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०८:३८