सूचनाको शक्ति - The Power Of Information

        

‘वाटरपार्क’ पर्यटनको बलियो आधार

बाँके । लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको ‘वाटरपार्क’ निर्माणको काम अहिले धमाधम भइरहेको छ । ‘वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुङ्गा साबित हुनेछ,’ नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालको भनाइ छ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ ।

तलाउलाई नौका विहार र पौडी पोखरीका रूपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक फुलबारी, बाल उद्यान, व्यावसायिक प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण हुनेछन् । ‘कुचुक्क परेको हाम्रो धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरूप नै फेरिन्छ, यहाँ हाम्रो व्यापार बढ्छ, हाम्रो जीवनस्तर पनि फेरिन्छ,’ स्थानीयवासी रघुवीर मिश्र खुशी व्यक्त गर्दै भने ।

हुन पनि स्थानीयवासी मिश्रले भने जस्तै वाटरपार्क निर्माणको ‘डिजाइन’ पनि त्यसैगरी भएको छ । नेपालगन्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गर्नेेछ । यसका साथै नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ । नेपालगन्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो ।

विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ । ‘यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको चार वर्ष्भित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ,’ नेपालगन्ज नगर विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख डा.धवलशम्शेर राणाले भने ।

नगर विकास समितिले अहिले वाटर पार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाणपुर्जा तयार गरिसकेको छ । केही दिनभित्र जग्गाधनीलाई प्रमाणपूर्जा वितरण गरिने अध्यक्ष राणाले बताए । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार घरसंरचना निर्माण गर्नुपर्ने जनाइएको छ । पश्चिम नेपालकै नमूनाका रूपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ ।

वाटरपार्क संरचनाअन्तरगत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, आर्थिक विकासको आधार बलियो बनाउन र नेपालगन्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जति सकेको छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणहरु एकमत छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार १६:४९