सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ

बाँके । बाँकेको खजुरा गाउँपालिकामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । ‘गाउँपालिका र हरेक वडामा समानताको पुस्ता : बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने राष्ट्रिय मूल नारा लेखेको व्यानर र व्याच सार्वजनिक गर्दै कार्यक्रमको शुरुवात गरिएको हो । अभियानकै अवसरमा आज सोमबार बेलुका खजुरा गाउँपालिकामा रहेका ८ वटै वडाका सार्वजनिक चौकहरुमा दीप प्रज्वलन गरिने खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन् ।

लैगिंक हिंसाविरुद्ध १६ दिने अभियानलाई सफल बनाउन खजुराबासीलाई आव्हान गरिएको जानकारी दिँदै सहायक महिला विकास निरीक्षक न्यौपानेले लैगिक हिंसा सामाजिक र कानूनी अपराध हो, शारिरीक, मानसिक वा मनोवैज्ञानिक, भौतिक र सामाजिक रुपमा कानून विपरीत कार्य कसैले पनि गरेमा दण्ड सजायको भागेदार बन्नुपर्ने सन्देशलाई पनि चौक तथा सार्वजनिक ठाउँहरुमा प्रवाह गरिने बताइन् ।

उनले सभ्य र समतामुलक समाज निर्माणका लागि लंैगिक हिंसा नगरौं र हिंसा हुनबाट रोकौं भन्ने कुराको बोध गराउन १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने जनाइन् । उनका अनुसार किशोर संजालले हरेक वडाका एक सामुदायिक विद्यालयमा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गर्ने, वडाहरुमा लैंगिक हिंसाविरुद्धका सूचनाहरु प्रवाह गर्दै नागरिकलाई सचेत पारिने तथा सम्बद्ध संस्थाहरुको सहकार्यमा अन्य कार्यक्रमहरु पनि सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार १६:४१