सूचनाको शक्ति - The Power Of Information

        

नेपाल फोटो पत्रकार संघ बझाङको अध्यक्षमा सत्यराज

बझाङ । बझाङमा नेपाल फोटो पत्रकार संघ गठन गरिएको छ । सत्यपाटी डटकमका बझाङ प्रतिनिधि सत्यराज सिंहको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रिदम सिंह, सचिवमा बिर्ख बोहरा, सहसचिवमा दोरेन्द्र खड्का र कोषाध्यक्षमा तरुणा जोशीलाई चयन गरिएको छ ।

संघले बझाङ जिल्लामा ओझेलमा परेका धार्मिक एवं ऐतिहासिक तथा भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै जिल्लामा रहेका सबै खाले पुराना रितिरिवाज, परम्परा ,सस्कृति एवं धामिक क्षेत्रका तस्वीरहरु संकलन गर्ने जनाएको छ । साथै जिल्लाका लोपोन्मुख बाली, चरा, बन्यजन्तु, ठुला साना हिमाल लगायतका तस्वीरहरु संकलन गर्ने जनाएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ःला शाखा बझाङका अध्यक्ष जगदीश रोकायाले विश्वको तुलनामा बझाङमा पत्रकारिता बामे सरेको बताए । ‘विश्वको पत्रकारिताको तुलनामा बझाङ भर्खर उदाएको छ । हामीले समाचारमा र लगनशिलतामा जोड दिनुपर्छ,’ उनले भने, ‘मेहेनत गरौ र सत्य निष्पक्ष समाचार लेखौं, समाजले हामीलाई मूल्याङ्कन गर्नेछ ।’

पत्रकार बसन्तप्रताप सिंहले भने, ‘हतारमा नभएर सत्यतथ्य उजागर गर्न लागौं । हामीमाथि कसैले औला ठड्याउने ठाउँ पाउदैनन् । सधैं सत्य र निष्पक्ष ढंगले समाचार लेखे बझाङको पत्रकारिताको उज्वल भविश्य हुन्छ ।’ पत्रकार रमेश केसीले भने युट्यूबर पत्रकारको जस्तो नभई समाचारभित्रका सत्यतालाई उजागर गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार १५:०३