सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक सुधारका लागि शिक्षकलाई सचेत गराउँदै नरैनापुर

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका शैक्षिक समस्या सुधार गर्न योजना बनाएर अगाडि बढ्नुपर्ने कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा शिक्षा विकास समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले योजनाबद्धरुपमा अगाडि बढ्न सके विद्यालयहरुमा सुधार आउन समय नलाग्ने बताए । उनले शिक्षा शाखाको समन्वयमा प्रधानाध्यापकहरुले जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै शैक्षिक सुधारका लागि अभिभावक र बालबालिकाहरुको चेतनास्तर बृद्धि गर्न आवश्यक रहेको बताए ।

नरैनापुरका बिद्यालयहरुमा भौतिक पूर्वाधारको कमी नरहेको बताउँदै यादवले अब शैक्षिक प्रगति देखाउने समय आएकाले प्रधानाध्यापक र शिक्षकहरु पठनपाठनप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शैक्षिक सुधारको लागि गाउँपालिकाले कहाँ, कस्तो र कुन किसिमको सहयोगको आवश्यकता रहेको छ, माग अनुसार सहयोग गर्न तयार रहेको बताए ।

शैक्षिक सुधारमा बाधक बन्ने काम सह्य नहुने भन्दै बिद्यालयमा बिद्यार्थी संख्या बढाउँदै प्रभावकारी पठनपाठनको ब्यवस्था मिलाउन सबैको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले बताए । गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागि अहिले दु्रत गतिमा लागिरहेको र गाउँपालिकाको यस अभियानमा सबैले सहयोग गर्नुपर्न उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुुर बस्नेतले नियमितरुपमा बिद्यालय सञ्चालन गरेर उपलब्धीमूलक प्रतिफल देखाउन सबै प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गरे । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरको शिक्षामा सुधार ल्याउनका लागि पालिकामा रहेका बिद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिमा जुटेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताए ।

शैक्षिक सुधारका लागि गाउँपालिका र शिक्षा शाखा सधैं तत्पर रहेको मिश्रले बताए । विद्यालयमा शिक्षकहरु अनुपस्थित हुने, विद्यालय समयमा नपुग्ने, अध्ययन अध्यापनमा लापर्वाही भएको, विद्यालय जाने बिद्यार्थीहरुको संख्या घट्दै गएपछि शिक्षकलाई नियमित उपस्थिति गराउन शिक्षकहरुका लागि कार्यक्रम आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार २१:२५