बझाङ । स्वास्थ्य कार्यालय बझाङमा गर्भवती चेकजाँच गराउने किशोरीको संङ्ख्या बढेको छ । स्वास्थ्य कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यालयमा गर्भवती चेकजाँच गराउने महिलाहरुको संख्यामध्ये अधिकांश किशोरी रहेको जानकारी गराइएको छ ।
सबैभन्दा कम साइपाल गाउँपालिकामा ५ जना बालिका गर्भवती रहेको र सबैभन्दा बढी जयपृथ्वी नगरपालिकामा २२८ जना किशोरी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । तथ्यांक अनुसार वित्थडचिरमा गाउँपालिकामा ६३, छविस पाथिभेरामा ८०, तल्कोट २७, केदारस्युँमा ५४ र मष्टा गाउँपालिकामा ६८ जना किशोरी गर्भवती भएका छन् ।
त्यसैगरी खप्तडछान्ना गाउँपालिकामा ५०, दुर्गाथलीमा ५१, थलारामा ३२, सुर्मा ६१ र बुंङ्गल गाउँपालिका १६२ जना किशोरी गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखाका अधिकृत डिल्लीरमण जोशीका अनुसार गर्भवती हुनुमा बालविबाह, आर्थिक, धार्मिक, साँस्कृर्तिक पक्ष मुख्य कारण रहेको छ ।
बझाङ जिल्ला अस्पतालका प्रमुख डा.सन्दिप ओखेडाले कम उमेरमा गर्भवतीबाट जन्मिएका शिशुहरूको तौल र उनीहरूको स्वास्थ्यसमेत जोखिमयुक्त रहने बताए । बालविवाहलाई कानुनविपरीत माने पनि ग्रामीण क्षेत्रमा कम उमेरमै विवाह गर्नेको संख्या बढ्दा गर्भवतीको संख्यासमेत बढेको देखिएको छ ।
‘बालविवाहका नकारात्मक असरबारे सचेतना फैलाउने कार्यमा सबै पक्ष सक्रियता बढाउनुपर्ने आवश्यकता छ,’ जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखाका अधिकृत जोशीले भने, ‘कम उमेरमै विवाह रोक्ने कार्यमा लाग्नु जरुरी छ ।’ उमेर नपुगेका किशोरीबाट जन्मिएका शिशुको तौल कम हुने गरेको उनले बताए ।
२० वर्षभन्दा कम उमेरका किशोरीबाट जन्मिएका ३ हजार शिशुको तौल साढे २ किलोमात्र रहेको पाइएको छ । सामान्य अवस्था हुनका लागि शिशुको तौले साढे दुई किलोभन्दा माथि हुनैपर्छ । गरिबी, सचेतना अभाव, सूचना प्रविधिको दुरुपयोग लगायत कारणले बालविवाह बढिरहेको बझाङ जिल्ला अस्पतालका प्रमुख डा.ओखेडाको भनाई छ ।
‘नेपालमा ३७ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक छ,’ उनले भने, ‘सन् २०३० भित्र बालविवाह निवारणको लक्ष्य लिएको नेपालका लागि यो तथ्यांकमा सुधार गर्नैपर्नेछ ।’ उमेर नपुगी विवाह गर्ने जोडीको घरबार बिग्रने, आमा तथा शिशुको स्वास्थ्यमा गम्भीर समस्या पैदा हुने, आर्थिक परिस्थिति नकारात्मक हुने र शिक्षासमेत पूरा नहुने समस्या पैदा हुने गरेको छ ।
सत्यराज सिंह ।