सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीकै कट्टर आलोचक घनश्याम ‘दर्शनका पोथा’ सुनाउने सुविधाबाट बञ्चित

काठमाडौं । सैद्धान्तिक पृष्ठभूमी र नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कट्टर आलोचकको पहिचान बनाएका नेता घनश्याम भुसालले बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रीको पदभार ग्रहण गरे । प्रधानमन्त्री केपी ओलीसँग भेटेरै जिम्मेवारी लिने नलिने निर्णय गर्ने बताएका भुसाल गृहजिल्ला कपिलवस्तुबाट फर्किदा नफर्किदै प्लेनमै बुधबार बेलुका मन्त्री भएको खबर पाए ।

मार्क्सवादी दशर्नलाई नेपाली परिपेक्ष्यमा जोडेर दलाली पुँजीवादी व्यवस्थाको व्याख्या र आलोचना गर्दै आएका भुसाल दोस्रोपटक मन्त्री बनेका हुन् । औपचारिक शिक्षामा समाजशास्त्रमा स्नातकोत्तर गरेका भुसाल माक्सवादी दर्शनको गहिरो विश्लेषण गर्न सक्ने नेताका रुपमा लोकप्रिय छन् । तर अब मन्त्रालयको जिम्मेवारी पाएसँगै भुसाल ‘दर्शनका पोथा’ सुनाएर मात्र लोकप्रिय हुने सुविधाबाट बञ्चित भएका छन् ।

उनका अगाडि गरेर देखाउने चुनौति र अवसर आएको छ । भुसालको काँधमा नेपालको ७० प्रतिशतभन्दा बढी जनसंख्या आवद्ध हुँदा पनि निर्वाहमुखी र आयातमै केन्द्रित कृषि पेशालाई व्यवसायिक र राष्ट्रिय आम्दानीको प्रमुख हिस्सामा रुपान्तरण गर्ने गहन जिम्मेवारी आएको छ । यसअघि २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनले प्रधानमन्त्री कार्यालय हेर्ने गरी विना विभागीय मन्त्रीका रुपमा काम गरेका थिए ।

त्यतिबेला मन्त्री भए पनि विना विभागीय हैसियत रहेकाले उनको शासकीय क्षमता परीक्षण हुन पाएको थिएन । तर यतिबेला भुसाल शासकीय क्षमताको परीक्षण हुने जिम्मेवारीमा पुगेका छन् । मन्त्रालयको बजेटको ८२ प्रतिशत हिस्सा तलब भक्ता र बाँकी १८ प्रतिशत लक्षित वर्गका लागि विनियोजन गर्दै आएको मन्त्रालयको स्वरुप परिवर्तन गरी आम कृषकले अपनत्व गर्न सक्ने मन्त्रालय बनाउन मन्त्री भूसालको जिम्मेवारी हुनेछ ।

दुई तिहाइ बहुमत प्राप्त ओली नेतृत्वको सरकारले आर्थिक सम्वृद्धिको नारालाई जोड दिएको छ र त्यो सम्वृद्धि कृषिको आधुनिकीकरणबाटै सम्भव छ । अहिलेसम्म खासै आकर्षण नरहेको र आम कृषकमा उपस्थिति जनाउन नसकेको मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री ओलीले आफ्ना आलोचक भुसाललाई व्यवस्थापन गरेको विश्लेषण पनि एकाथरीको छ ।

नेकपाका एक नेता भन्छन्, ‘उहाँ सधैं सिद्धान्त र विचारका कुरा गरेर लोकप्रिय देखिनुहुन्थ्यो अब त्यो दर्शनलाई व्यवहारमा रुपान्तरण गर्ने बेला आएको छ । उहाँले गर्न सक्नुभएन भने गफै गर्ने त हो भन्ने आरोप उहाँमाथि लाग्ने निश्चित छ ।’ बिहीबार पदभार ग्रहण गर्दै उनले कृषि मन्त्रालय आफूले चाहेकै मन्त्रालय भएको र जनताले अनुभुत हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । तर प्रतिवद्धताले मात्र उनको छवि बच्ने छैन ।

को हुन् भुसाल ?

नेकपाको स्थायी समिति सदस्य रहेका घनश्याम भुषालको जन्म २०१८ साल भदौ २६ गते भएको हो । २०३४ सालदेखि राजनीतिमा लागेका भुसालले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । पहिलोपटक २०५३ सालमा उपचुनावमार्फत सांसद बनेका भुसाल दोस्रोपटक २०७४ सालमा कपिलवस्तु–२ बाट राप्रपाका दीपक बोहोरालाई पराजित गर्दै सांसद बनेका हुन् ।

२०५६ मा माले, २०६४ र २०७० मा तत्कालीन एमालेबाट उम्मेदवार बनेका भुसालले पराजय भोगेका थिए । विद्यार्थी राजनीतिमा लागेका भुसाल २०३७ देखि २०४६ सालसम्म पटक–पटक गरेर झण्डै तीन वर्ष जेल परेका थिए । २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट उनी उपमहासचिवमा निर्वा्चित भएका थिए । भुसालले ‘नेपालको अर्थराजनीति’का साथै ‘आजको माक्सवाद र नेपाली क्रान्ति’ शीर्षकको किताबसमेत लेखेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०८:३६