सूचनाको शक्ति - The Power Of Information

        

सीमा जोडिएका सबै देशसँग भारतको किचलो, सीमा विवादले सधैँ तनाव

काठमाडौं । यस वर्षको रामनाथ गोयन्का लेक्चरमा भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले सीमा विवाद अझैसम्म सुल्झाउन नसक्नु भारतको कमजोरी भएको स्वीकार गरे । छिमेकीहरुसँग भारतको सीमा विवादका कारण यस क्षेत्रमा सधैँ तनाव देखिने गरेको छ । कालापानीसहित नेपालको उत्तर पश्चिमतर्फको सीमा क्षेत्रको भूभाग भारतले क्षेत्रभित्र पारेर नक्सा प्रकाशित गरेपछि नेपालमा त्यसको तीव्र विरोध भएको छ ।

चीन र पाकिस्तानसँग सिमानाकै विषयमा भारतले युद्ध समेत लडिसकेको छ भने विवाद यथावत् छ । बंगलादेशसँग भने सीमा विवाद उसले सन् २०१५ मा टुंग्याएको छ । श्रीलंका र भारतबीच सीमा सम्झौता भएपनि विवाद अझै कायम छ । भुटानसँग भने चीनको सीमा विवाद रहेको छ । सन् २०१७ मा चीन र भुटानबीचको विवादास्पद क्षेत्र दोक्लममा चिनियाँ सेनाको सडक निर्माण कार्य रोक्न भारतीय सेना पुगेपछि तनाव सुरु भएको थियो ।

७२ दिन आमनेसामने भएपछि दुवै देशका सैनिक सो क्षेत्रबाट पछि हटेका थिए । भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मु तथा कस्मिरलाई टुक्र्याएर मुलुकको राजनीतिक नक्सा परिवर्तन गरेपछि सीमा विवाद नयाँ शिराबाट सुरु भएको छ । अक्टोबर ३१ बाट भारतको गृहमन्त्रालयले नयाँ नक्सा जारीको विषयमा पाकिस्तान र चीनले पनि विरोध गरेका छन् । सीमामा किचलो भइरहने हुनाले भारत र उसका छिमेकी मुलुकले सीमा सुरक्षाका लागि ठूलो धनराशी खर्च गर्दैै आएका छन् ।

भारत–चीन

सन् १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ भारतसँग सीमा समस्या समाधान गर्ने प्रस्ताव लिएर नयाँ दिल्ली पुगेका थिए । तर, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले यसमा अनिच्छा देखाए । त्यसको अर्को वर्ष नेपाल र चीनबीच सीमा सम्झौता भयो । तर, भारत–चीन सीमा विवाद भने चर्किँदै गयो । अन्ततः भारत र चीनबीच १९६२ मा युद्ध समेत भयो, जसमा चिनियाँ पक्ष विजयी भएको थियो ।

भारत र चीनबीच पूर्व र पश्चिम दुवैतर्फ सीमा विवाद छ । पूर्वमा भारतले अरुणाचल प्रदेश भन्ने गरेको भूभागलाई चीनले दक्षिण तिब्बत भन्छ र त्यो आफ्नो भएको दाबी गर्छ । गत वर्षमा मात्रै चीनले अरुणाचल क्षेत्रमा पार्ने विभिन्न क्षेत्र र भूभागको चिनियाँ नामाकरण समेत गरेको थियो । यो सीमा विवादको जरो भने बेलायती उपनिवेशकालसम्म पुग्छ । सीमाका विषयमा अंग्रेज, तिब्बती र चिनियाँ पक्षबीच १९१४ मा सिमलामा वार्ता भएको थियो ।

सो वार्तामा बेलायती प्रशासक हेनरी म्याकमोहनको प्रस्तावमा तिब्बत र ब्रिटिस भारतबीच सीमा रेखा कोरियो । तिब्बत त्यसमा सहमत भएर सन्धिमा हस्ताक्षर गरेपनि चीनले त्यसलाई स्वीकार गरेको थिएन । सो सन्धिप्रति असहमति व्यक्त गर्दै उसले वार्ता बहिस्कार गरेको थियो । यो सिमारेखालाई म्याकमोहन लाइन भनेर चिनिन्छ । जुन आफूलाई मान्य नहुने चीनले बताउँदै आएको छ ।

यद्यपि चीन र भारतबीच नयाँ सीमा रेखा कोर्ने विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन । त्यसैगरी, पश्चिमतर्फ चीनको नियन्त्रणमा रहेको अक्साइ चीनको क्षेत्रमाथि भारतले दावी गर्दै आएको छ । पहिले जम्मु तथा कस्मिरभित्र पर्ने सो क्षेत्र चीन र पाकिस्तानबीच सम्झौता भएपछि चीनको नियन्त्रणमा गएको हो । यो क्षेत्रलाई भारतले हालै जारी गरेको नक्सामा लद्दाखभित्र राखेको छ ।

भारत चीनबीच तीन दशकदेखि सीमा विवाद समाधान गर्ने वार्ता चल्दै आएको छ । तर सामाधान निस्कन सकेको छैन । यी दुई देशबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा छ । एक अर्को प्रति अविश्वास र आन्तरिक राजनीतिक कारणले दुवै देशबीच सीमा विवाद समाधान गर्ने विषयमा ठोस प्रगति हुन सकेको छैन । दुवै देशले विवाद समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेका छन् । जसमा चीनबाट स्टेट काउन्सिलर र भारतबाट राष्ट्रिय सुरक्षा सल्लाहकारले नेतृत्व गर्ने गरेका छन् ।

भारत–पाकिस्तान

विभाजनकै समयदेखि भारत र पाकिस्तानबीको सीमा विवाद छ । बेलायती साम्राज्यबाट स्वतन्त्र बनेसँग विभाजित भएका भारत र पाकिस्तान दुवैले कस्मिरको पुरै भूभागमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दछन् । तर, कस्मिरको भूभाग भने भारत, पाकिस्तान र चीनको अधीनमा छ । भारत र पाकिस्तानबीच भएको तीन प्रमुख युद्धमध्ये दुई वटा कस्मिरको विषयलाई लिएर भएको थियो ।

विवादको कारण भारत र पाकिस्तानबीच सीमाकंन हुन सकेको छैन । दुवैको प्रशासनिक क्षेत्रलाई लाइन अफ कन्ट्रोल (एलओसी)ले छुट्टयाएको छ । परमाणु हतियारयुक्त दुवै देशबीच सीमा क्षेत्रमा निरन्तर रुपमा गोली हानाहान हुने गरेको छ । जसमा दुवैपक्षका सैनिक मर्ने क्रम निरन्तर जारी छ । दुवैले कस्मिरमा लाखौँ सेना तैनाथ गरेका छन् ।

भारत–नेपाल

नेपाललाई तीनतिरबाट घेरेको भारतले सयौं स्थानमा अतिक्रमण गरेको छ । जसमा मुख्य रुपमा नवलपरासी जिल्लाको सुस्ता र उत्तर पश्चिम क्षेत्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा छन् । सन् १९१६ को सुगौली सन्धिले महाकाली नदीलाई सीमा नदी मानेको छ । तर भारतले क्रमशः अतिक्रमण गर्दै आएको छ । यीबाहेक अन्य क्षेत्रमा दशगजा सार्ने, भारतीय सीमा सुरक्षा बल अनधिकृत रुपमा नेपाल प्रवेश गर्नेजस्ता घटना हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०८:५२