बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ्गको पौवागडी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ ५ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज साँझ ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो ।
भुकम्प मापन केन्द्रका भूकम्पविद राजेश शर्माका अनुसार सुदूरपश्चिमका बाजुरा, बझाङ्ग, डोटी, कैलाली, अछाम लगायत कर्णाली र प्रदेश ५ का जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प गएपछि सूदूरपश्चिमका नागरिकहरु त्रसित बनेका छन् ।
भूकम्पका कारण अछामको साँफेबगर नगरपालिकाको एउटा घर भत्किएको स्थानीय रमेश महराले जानकारी दिए । भूकम्पको यथार्थ क्षतिको विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पबाट कति क्षति भयो भन्ने एकीन नभएको प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले जानकारी दिए ।
उनले भूकम्पको क्षतिबारे बुझ्नका लागि मातहतका सबै प्रहरी चौकीहरुलाई निर्देशन दिइएको बताए । भूकम्प आएपछि जिल्ला सदरमुकाम मार्तडीमा केहीबेर होहल्ला मच्चिएको थियो भने कतिपय नागरिकहरु भूकम्प आउँदै गर्दा सुरक्षित ठाउँ खोज्दै भागदौड गरेको बाजुराबाट पत्रकार प्रेम रौलेले जानकारी दिएका छन् ।
सत्यपाटी ।