सूचनाको शक्ति - The Power Of Information

        

एक बर्षअघि बेपत्ता पत्रकार खड्काको परिचयपत्र भेटियो

बाजुरा । बाजुराको बूढीनन्दा दर्शन गरेर फर्किने क्रममा २०७५ भदौदेखि बेपत्ता भएका पत्रकार तेजु खड्काको परिचयपत्र लगायत सामग्री भेटिएका छन् । खड्काको परिचयपत्र, लाइसेन्स, झोलालगायत सामग्रीहरु भेटिएको प्रहरीले जनाएको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका–३ मा पर्ने लौरीबिनायक भन्ने स्थानको जंगलमा स्थानीयले खड्काको परिचय खुल्ने सामग्री भेटाएको इलाका प्रहरी कार्यालय कोल्टी (बाजुरा)का प्रमुख प्रहरी नायब निरीक्षक रुद्रसिंह धामीले जानकारी दिए । रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा काम गरेका खड्का दिपायल सिलगढी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

स्थानीय पदम रोकायालगायतले जडिबुटी खोज्ने क्रममा जंगलमा खड्काको पर्स, झोला, स्लिपिङ ब्यागलगायत सामग्री भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । सामग्री भेटिएको स्थानभन्दा केही टाढा दुईवटा हड्डीसमेत फेला परेकाले उक्त हड्डी खड्काकै हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि सोमबार दिउँसो नै उक्त स्थानतर्फ प्रहरी, पत्रकार र स्थानीयको टोली गएको प्रहरी नायब निरीक्षक धामीले जानकारी दिए । कोल्टीबाट उक्त स्थान करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले टोली घटनास्थल पुग्न केही ढिलाई भएको उनले जानकारी दिए ।

खड्का हराएको क्षेत्रमा तिव्र गतिमा हावा चल्ने भएकाले उनलाई हावाको बेगले उडाएर भीरमा लडाएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका खड्का पछिल्लो समय बाजुराको कोल्टीस्थित रेडियो बूढीनन्दामा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १७:२३