सूचनाको शक्ति - The Power Of Information

        

भ्रमण बर्ष २०२० : पर्यटन प्रवर्द्धन गर्न बाँकेमा बजेट अभाव, गतिविधि शुन्य

बाँके । भ्रमण बर्ष सन् २०२० सुरु हुन करिब डेढ महीना बाँकी छ । सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण बर्ष नजिकिँदै जाँदा बाँकेमा भने पर्यटन प्रवर्द्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन बाँकेमा हालसम्म कहीँकतै छलफल पनि भएको छैन ।

बाँकेमा भ्रमण बर्ष लक्षित गतिविधि अझै पनि सुरु हुन सकेका छैनन् । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठी पत्रमा भ्रमण बर्ष सन् २०२० को लोगो राख्नेबाहेक कुनै उपलब्धीपूर्ण कामहरु गरेका छैनन् । यहाँका स्थानीय तहहरुले पर्यटक आकर्षण गर्न र पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा ध्यान पुर्‍याउने सकेका छैनन् ।

भ्रमण बर्षलाई सार्थक बनाउन बृहत् योजना आवश्यक भए पनि बाँकेमा अहिलेसम्म कुनै तयारी नभएको भ्रमण वर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले स्वयं बताउँछन् । उनले भ्रमण वर्षको नारा नारामै सीमित भएको जस्तो देखिएको बताए । सरकारले बाँकेका चार वटा पर्यटकीय स्थललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ ।

बागेश्वरी मन्दीर

पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवर्द्धनका लागि बजेट नहुँदा प्रचारप्रसार लगायका काममा समस्या भएको काफ्लेको भनाई छ । सरकारले १०० वटा गन्तव्य सूचिकृत गर्दा बाँकेका चार वटा समेटिएका हुन् । चार वटै गन्तव्य सूचिकृत भएपछि तिनीहरुको प्रवर्द्धनका लागि सरकारले बजेट भने उपलब्ध नगराएको छैन ।

गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले १०० गन्तव्यको सूचीमा राखे पनि प्रवर्द्धनका लागि बजेट भने नछुट्याएको बताए । ‘५० वटा गन्तव्यका लागि बजेट छुट्याएको थाहा छ,’ उनले भने, ‘त्यसमा बाँकेका कुनै पनि गन्तव्य पर्न सकेनन् । नीजि क्षेत्रको पनि यसमा चासो देखिएन ।’

सरकारले बाँकेको नेपालगन्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बैजनाथ गाउँपालिका–१ मा रहेको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह बाबा मजारलाई सूचिकृत गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज

आन्तरिक र बाह्य पर्यटकको केन्द्रका रुपमा रहेका पर्यटकीय स्थलहरु सरकारको गन्तव्यमा सूचिकृत हुनु राम्रो भए पनि प्रवर्द्धन र विकासका लागि बजेट नछुट्याइनु निराशाजनक रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताए । सरकारले प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रहरु सूचीकृत गरे पनि प्रवर्द्धनका लागि बजेट नदिएको चौधरीको गुनासो छ ।

पर्यटकीय स्थलको प्रवर्द्धन र पूर्वाधारबिना पर्यटक भित्र्याउन सम्भव नहुने बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको भनाई छ । बागेश्वरी मन्दिरको प्रवर्द्धन गर्न सक्ने हो भने मात्रै ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने उनले बताए । बजेट अभावकै कारण तयारी नहुँदा बाँकेमा पर्यटनको रौनक बढ्न नसकेको उनको भनाई छ ।

गाभर भ्याली सामुदायिक होमस्टे

‘सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने हो भने उनीहरूलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवर्द्धन हुनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘बाँकेमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज लगायत पर्यटकलाई आकर्षण गर्ने स्थलसमेत भएकाले प्रवर्द्धन जरुरी छ ।’

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्षका लागि कार्ययोजना बनाउन गठन गरिएको २१ सदस्यीय जिल्ला समितिको बैठकसमेत हालसम्म बसेको छैन । सरकारको तयारी कम भएकाले लक्ष्य हासिल गर्नेमा शंका देखिएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताए ।

कम्मर शाह बाबा मजार

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पनि कम्मर शाह बाबा मजारका लागि सरकारबाट कुनै पनि बजेट उपलब्ध नभएको बताए । ‘अहिलेसम्म मजारका लागि बजेट कतैबाट पाएका छैनौं,’ अध्यक्ष चौधरीले भने । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले काम गर्न खोज्दा पनि सम्बन्धित निकायको सहयोग नपाएको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ११:३३