जिल्ला समन्वय समिति बाँकेको ग्यारेजमा थन्काइएका घुम्ती शौचालय । फाइल तस्वीर
बाँके । न्यूरोडमा सामान किन्दै गरेका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ । उनी हतारमा एउटा चिया पसलमा छिरे । साहुजीलाई चिया पकाउन अह्राउँदै शौचालयको सोधीखोजी गरेर शौच गर्न गए ।
सामान किन्नकै लागि नेपालगन्ज आएका भण्डारीलाई चिया पिउनुभन्दा पनि पिसाब फेर्नुपर्ने थियो । पिसाब फेर्नकै लागि चिया पिउनैपर्ने भयो । ‘चिया त बहानामात्रै थियो । मुख्य कुरा त पिसाब फेर्नुपर्ने थियो,’ उनले भने, ‘शहरमा चिनेजानेको कोही नभएपछि चिया पिउने बाहनामा पिसाब फेर्न गएको हुँ ।’
न्यूरोडकै एक फेन्सी पसलमा कपडा किन्दै गरेका बाँके बैजनाथ गाउँपालिका–२ का ओमप्रकाश रेग्मीलाई पनि पिसाबले च्याप्यो । फेन्सी पसलका साहुजीसँग सोधे, यहाँ शौचालय छ ? साहुजीले सहजै जवाफ दिए, ‘यहाँ घरबेटीले शौचालय प्रयोग गर्न दिँदैनन् । तपाई अन्यत्रै जानुपर्छ ।’
रेग्मीलाई पिसाबले निकै च्यापेको थियो । उनी कपडा किन्न छाडेर नजिकैको चिया पसलतिर लागे । साहुजी चिया बनाउनस् है भन्दै शौचालय कहाँ छ भनेर सोधे । चिया पसलेले शौचालय देखाई दिएपछि उनलाई निकै राहत महसुस भयो । पिसाब फेर्नकै लागि चिया पिउनुपर्ने उनको पनि रहर नभएर बाध्यता नै थियो ।
नेपालगन्जमा यस्तो समस्या भण्डारी र रेग्मीको मात्रै नभएर आम नागरिकको साभधmा समस्या हो । नेपालगन्जजस्तो ठूलो शहरमा पर्याप्त सार्वजनीक शौचालय नहुँदाका पीडा भण्डारी र रेग्मीले जस्तै सबैले कुनै न कुनै रुपमा भोगिरहेकै हुन्छ । नेपालगन्जमा पर्याप्त सार्वजनीक शौचालय नहुनुको पीडा सबैले यसैगरी भोग्नुपर्छ ।
त्यसो त नेपालगन्ज उपमहानगरपालिकाले लाखौं खर्चेर ल्याएका चार वटा घुम्ती शौचालय सञ्चालनमा नआउनु पनि नेपालगन्जमा ओहोरदोहोर गर्दे पैदल यात्रुका लागि कहाँ शौच गर्ने भन्ने अर्को समस्या हो । पश्चिम नेपालको ठूलो र औद्योगिक शहर नेपालगन्जले सार्वजनिक शौचालयको अभाव बर्षौदेखि यसैगरी झोलिरहेको छ ।
पर्याप्त शौचालयको व्यवस्था नहुँदा सर्वसाधारणले दिसापिसाब गर्न भोगिरहेको समस्या समाधान गर्नका लागि ल्याइएका घुम्ती शौचालय सञ्चालनमा ल्याउन नसक्नु उपमहानगरपालिकाकै कमजोरी भएको बताउँछन्, नेपालगन्ज–१९ का स्थानीयबासी दीपक रेग्मी । ‘नेपालगन्जमा रहेको शौचालयको अभावलाई उपमहानगरले सुल्झाउनुपर्छ,’ उनले भने ।
नेपालगन्जमा दैनिक ३०/३५ हजार नागरिकको ओहोरदोहोर हुने अनुमान छ । तीमध्ये एक चौथाई अर्थात् ८/१० हजार नागरिकले पैदल यात्रा गरिरहेका हुन्छन् । सीमित स्थानमा भएका शौचालय यात्रुहरुका लागि पर्याप्त छैनन् । नेपालगन्ज उपमहानगरभित्र रहेका १२ वटा सार्वजनीक शौचालयमध्ये सात वटा मात्र सञ्चालनमा रहेका छन् ।
भएका सार्वजनीक शौचालय पनि पायक पर्ने स्थानमा छैनन् । न्यूरोडमा शौच लागेमा एक किलोमिटर टाढा धम्बोझी चौक या दुई किलोमिटर टाढा सदरलाइन पुग्नुपर्छ । पश्चिम नेपालको व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगन्जमा सर्वसाधारणको चाप बढ्दो क्रममा रहेकाले सार्वजनीक शौचालयको समस्या अझ विकराल बन्दै गएको छ ।
‘अहिले सात वटा शौचालय सञ्चालनमा छन्, अन्य स्थानमा रहेका पाँच वटा र घुम्ती शौचालयलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउँदैछौं,’ नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई निरिक्षक अशोक केसीले भने, ‘सार्वजनीक र घुम्ती शौचालय व्यवस्थितरुपमा सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’
दैनिक पैदल यात्रुको जनसंख्याको अनुपातमा शौचालयको संख्या निकै कम भएपछि सर्वसाधारणले अप्ठेरो भोग्नुपरेको छ । त्यसमा अपाङ्गता भएका र महिलाहरुलाई झन् समस्या हुन्छ । सुर्खेत रोडमा भेटिएकी पैदल यात्रु कविता शाहीले भनिन्, ‘महिलालाई जहाँ पायो तहीँ जान मिल्दैन । कहिलेकाहीँ चिया पिउने बहानामा पिसाब फेर्नकै लागि होटलमै जानुपर्छ ।’
शौचालय नहुनुको समस्या त छ नै, भएका शौचालय पनि फोहोर हुने र न्यूनतम सुविधाको अभावमा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । शौचालयलाई व्यवस्थितरुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले ध्यान नदिएको यात्रुहरुको गुनासो छ । ‘भएका शौचालय पनि व्यवस्थित छैनन्,’ पैदल यात्रु शाहीले भनिन् ।
नेपालगन्जका धम्बोझी चौक, भेरी अस्पताल, सदरलाइनस्थित घाँस मण्डी, त्रिभूवन चौक पूर्वमा रहेको सब्जी मण्डी, बाके गाउँ जानेबाटोमा रहेको मासु मण्डी, बसपार्क र बागेश्वरी मन्दिर नजिकै सार्वजनीक शौचालय जेनतेन प्रयोगमा आइरहेका छन् भन् अन्य सात स्थानमा रहेका सार्वजनीक शौचालय प्रयोगविहीन छन् ।
नेपालगन्जको धम्बोझी चोकमा सञ्चालनमा रहेको अत्याधुनिक शौचालय । फाइल तस्वीर
प्रयोगविहीन घुम्ती शौचालय
नेपालगन्ज उपमहानगरपालिकाले रु.५९ लाखमा गत मङ्सिरमा खरिद गरेर ल्याएको चार वटा घुम्ती शौचालय पाँच महिना नबित्दै प्रयोगविहीन भए । नेपालगन्जका अति व्यस्त चोक र चौराहमा राख्नका लागि ल्याइएका घुम्ती शौचालय रेखदेखका लागि कर्मचारी नभएपछि प्रयोगविहीन भएका हुन् ।
सर्वसाधारणले शौच गरेबापत शुल्क तिर्न नमान्ने र ठेक्का लिएका ठेकेदारले खर्चसमेत नउठ्ने भन्दै ठेक्का रघ गरेपछि सञ्चालनमा समस्या भएको उपमहानगरपालिकाका सरसफाई निरिक्षक अशोक केसीले बताए । ‘कार्यविधि बनाएर घुम्ती शौचालय सञ्चालनमा ल्याइए पनि पैसा तिरेर शौच गर्न नमानेपछि प्रयोगमा ल्याउन समस्या भयो,’ उनले भने ।
उपमहानगरले पुष्पलाल चोक र त्रिभुवन चोक, धम्बोझी, गुलरिया बसपार्कमा राखेर खुला दिसामुक्त अभियानमा टेवा पु¥याउने उद्देश्यले भारतबाट ल्याइएका घुम्ती शौचालय प्रयोगविहीन भएपछि हाल जिल्ला समन्वय समिति परिसरमा थन्क्याइएको छ । चार वटा शौचालयमध्ये एउटा मात्रै सञ्चालनमा रहेको सरसफाई निरिक्षक केसीले बताए ।
चार महिनादेखि घुम्ती शौचालय जिल्ला समन्वय समिति परिसरमा थन्किएका छन् । घुम्ती शौचालय तीन महिनाका लागि रु.७० हजारमा ठेक्का दिइएको थियो । ‘शौच गर्नेहरुले न्यूनतम शुल्कसमेत तिर्न नमानेपछि ठेकेदार कम्पनीले नवीकरण गर्न मानेनन्, प्रयोगमा नआएपछि जिल्ला समन्वय समिति परिसरमा राखिएको छ,’ सरसफाई निरिक्षक केसीले भने ।
तीन महिनाका लागि घुम्ती शौचालय भाडामा लिएका स्वच्छ नेपाल, हाम्रो अभियानका अध्यक्ष भानु भट्टले भाडामा लिएर सञ्चालन गर्न नसकिएको बताए । उनले शौचालयमा भन्दा खुला ठाउँ र झाडीमा शौच गर्ने प्रवृत्ति भएकोले शौच गर्न नआउने र आए पनि शुल्क तिर्न नमान्ने समस्या नेपालगन्जमा भएको बताए ।
तीन महिनाका लागि रु.७० हजारमा भाडा लिएको बताउँदै उहाँले उपमहानगरपालिकालाई तिर्ने रकम बल्लतल्ल उठाएको बताए । ‘बरु खुला ठाउँ र झाडीमा गएर शौच गरिहाल्छन्, तर पैसा तिरेर शौच गर्न मान्दैनन्,’ उनले भने । एक ठाउँबाट अर्को ठाउँ सहजै लैजान सकिने आधुनिक शौचालयमा एकसाथ आठ जनाले प्रयोग गर्न सक्ने सुविधा छ ।
सञ्चालन खर्चका लागि उपभोक्तासँग पिसाब गरेबापत रु.पाँच र दिसा गरेबापत रु.१० शुल्क तोकिएको छ । तर, शुल्क तिरेर शौच गर्नेको संख्या न्यून भएको उपमहानगरले जनाएको छ । चोक र चौराहमा राखेर राखेर फाइदा नभएपछि ती शौचालयलाई मेला, महोत्सव, आमसभा र धार्मिक कार्यक्रममा प्रयोग गर्नका लागि आयोजकले भाडामा लिने गरेका छन् ।
काशीराम शर्मा ।