सूचनाको शक्ति - The Power Of Information

        

सिक्टा नहरमा फेरि गरियो पानी परीक्षण, कतै चुहावट देखिएन : आयोजना प्रमुख

सिक्टा सिँचाइ आयोजनाको नहर । फाइल तस्वीर

सिक्टा सिँचाइ आयोजनाको नहर । फाइल तस्वीर

बाँके । राप्ती नदीस्थित सिक्टा सिँचाइ आयोजनाको नहर परीक्षण थालिएको छ । कात्तिक २२ गतेदेखि नहरमा पानी हाली परीक्षण थालिएको हो । नहरको २० देखि ३५ किलोमिटर क्षेत्रमा घुलनशील माटोका कारण भत्किने समस्या थियो । नहर तत्काल मर्मत गरी सञ्चालन गर्नुपर्ने योजनासाथ गत वैशाख १० गते मन्त्रिपरिषदले काम थाल्ने निर्णय गरेको थियो ।

निर्माण कम्पनी भ्रष्टाचार मुद्दामा तानिएपछि सरकार आफैंले दायित्व लिएर सिक्टाको बाँकी काम थालिएको थियो । कात्तिक २८ गतेसम्म नहरको मुहानदेखि ३५ किलोमिटर क्षेत्रसम्म पानी परीक्षण गरिएको आयोजना प्रमुख कृष्ण नेपालले बताए । परीक्षणका क्रममा नहरमा तत्काल समस्या देखिएको छैन । ‘सिँचाइ आवश्यक परेका बेला माग हुन आए अब नहर सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘कतै चुहावट देखिएको छैन ।’

मुहानदेखि बीस किलोमिटर क्षेत्रसम्म पानी ल्याउन यसअघि पनि समस्या थिएन । बीसदेखि ३५ किलोमिटर क्षेत्रमा भने घुलनशील माटोका कारण नहर भत्किने समस्या थियो । यो क्षेत्रको ठाउँठाउँमा नहर भत्किएका कारण पानी चलाउन सकिएको थिएन । आयोजनाको नहर दोस्रो पटक परीक्षणका क्रममा २०७५ वर्षको साउन ७ गते भत्किएको थियो । ५० क्युमेक मिटर क्षमता रहेको नहरमा चार क्युमेक मिटर पानी हाल्दै भत्किएको थियो । २२ किलोमिटर पर चंगाई क्षेत्रमा नहर ११ मिटर भत्किएको थियो ।

२०७३ असार १४ गते पनि नहर परीक्षणका क्रममा १५ मिटर भत्केको थियो । २६ किलोमिटर पर झिँझरीमा १५ किलोमिटर भत्केको थियो । दोस्रो पटक नहर भत्केपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र संसदको कृषि तथा जलस्रोत समितिले छानबिन गरेका थिए । छानबिनका क्रममा सिँचाइ निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रा.लि.ले भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

आयोजनाको २० देखि ३५ (पन्ध्र किलोमिटर) क्षेत्रमा पनि भत्किने समस्या छ । त्यसक्षेत्रमा घुलनशील माटो भएका कारण पानी पठाउन नसकिएको आयोजनाको दाबी थियो । माटो परीक्षणमै लापरबाही गरिएकाले त्यस क्षेत्रको नहर जोखिममा परेको स्थानीयको आरोप छ । सिक्टा सिँचाइ आयोजना प्रमुख नेपालका अनुसार आयोजना निर्माणपूर्व डिपिआर बनाउँदै माटो परीक्षण भएको थियो ।

परामर्शदाताले डिपिआर बनाउँदा भने सो नहरमा घुलनशील रहेको प्रतिवेदन दिएको थिएन । नेपालका अनुसार परामर्शदाता लामेर इन्टरनेसनल जर्मनीले एआइटी एसियन इन्स्टिच्युट अफ बैंककमार्फत डिपिआर तयार गरेको थियो । ‘उसले प्रतिवेदनमा घुलनशील माटो रहेको लेखेको छैन,’ नेपालले भने, ‘निर्माण सुरू गर्दा पनि माटो परीक्षण गरिएको हो, घुलनशील भन्ने पत्ता लागेन ।’ आयोजना निर्माणका बखत पनि क्रमबद्ध तरिकाले माटो परीक्षण गर्दा समस्या नदेखिएको नेपालको दाबी छ ।

‘पहिलोपटक नहरमा पानी हाल्दा भत्कियो, भत्किएपछि माटो परीक्षण गर्दा घुलनशील देखियो,’ नेपालले भने, ‘यसकारण हामीले माटोको कारण देखाएका हौं, दोस्रोपटक भत्किएपछि परीक्षण गर्दा पनि माटोकै कारण देखियो ।’ सिक्टाको मुख्य नहर निर्माण कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक राप्रपा नेता विक्रम पाण्डे हुन् । गुणस्तरहीन काम गरेको अभियोगमा उनीविरूद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

२०६३ सालबाट निर्माण सुरू गरिएको नहरमा हालसम्म १६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर सडक निर्माण सम्पन्न हुँदा साढे १२ अर्ब रुपैयाँ खर्च भएको थियो । २०७३/०७४ का लागि आयोजनालाई सरकारले थप एक अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको थियो । आयोजनाको सबै काम २०७६/०७७ सम्म सम्पन्न हुँदा झन्डै २५ अर्ब रुपैयाँ लागत पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १८:५२