हाल वडा नं.–४ खजुरामा रहेको जानकी गाउँपालिकाको केन्द्र । फाइल तस्वीर
बुटवल । प्रदेश–५ को मन्त्रिपरिषद बैठकले बाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको छ । बाँकेको जानकी गाउँपालिका वडा नंं ४ खजुराबाट वडा नंं ३ मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिएका छन् ।
यस्तै मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनको नियुक्तिका लागि पनि संघीय सरकारलाई सिफारीस गरेको छ । बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनमा डा.राजेन्द्रप्रसाद खनाल नियुक्त गरेको छ । डा. खनाल वरिष्ठ रेडियोलोजिष्ट हुन् ।
यसअघि मेडिकल सुपरिटेण्डन रहेका डा. कृष्ण खनालले अनिवार्य अवकास पाएका थिए । यस्तै बैठकले सूचना तथा सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकको पारिश्रमिक सेवा सुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्षले ५० हजार ६०० मासिक पारिश्रमिक पाउने गरी मापदण्ड बनाइएको छ ।
यसैगरी प्रदेश लोकसेवा आयोजकका सदस्यको पािरश्रमिक, सेवाको सर्त र ुसुविधा पनि बैठकले स्वीकृत गरेको छ । आयोगका सदस्यहरुले पनि ५० हजार ६ सय पारिश्रमिक पाउनेछन् । यता कानुन मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ खुमाकान्त पौडेलको पनि पारिश्रमिक एवं सुविधा बैठकले स्वीकृत गरेको छ । पौडेलले मासिक ४९ हजार पारिश्रमिक पाउनेछन् । बैठकले विपत्त व्यवस्थापन कार्य सञ्चालन निर्देशिका, कृषि पशुपंक्षी सम्बन्धी अभियानमुखी मिसन कार्यक्रम र स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
सत्यपाटी ।