सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल, प्रमूख पार्टीको लडाइँले राप्रपालाई फाइदा

स्थानीय तहको उपनिर्वाचन २०७६

बाँके । बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन् । दुई प्रमुख पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन् ।

नेपाली काँग्रेसलाई पुरानो बर्चस्व जोगाउन र नेकपालाई पार्टी एकीकरणपछिको प्रभाव देखाउन दुबै पार्टी योजनाबद्ध तरिकाले लागेका छन् । वडाध्यक्षका उम्मेदवारको निर्वाचन प्रचारका लागि नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चुनावीसभा आयोजना गरेको छ । चुनावी गतिविधिलाई प्रभावकारी बनाउन पार्टी अध्यक्ष दाहालको उपस्थितिमा चुनावीसभा गरिएको नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिए ।

उनी नगर प्रमुखसहित बहुमत वडामा नेकपाको जित भएको र अहिले पार्टी एकीकरणले उपनिर्वाचनमा नेकपाको जित हुने दाबी गर्छिन् । नेपाली काङ्ग्रेसले निर्वाचन कार्यालय स्थापना गरी चुनाव प्रचारप्रसारमा लागेको उक्त पार्टीका कोहलपुर नगरपालिका नगर सचिव भूम भण्डारीले बताए ।

उनले वडा नं. ६ नेपाली काँग्रेसको इलाका भएकाले यो उपनिर्वाचनमा पनि जित सुनिश्चित भएको उल्लेख गरे । वडाध्यक्षको निर्वाचनका लागि नेकपाले रामशरण थारुलाई उम्मेदवार चयन गरेको छ भने नेपाली काँग्रेसले कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि मङ्सिर १४ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जित आफ्नो पक्षमा पार्ने दाउमा छ । वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातामा पनि कसलाई मत दिने भन्ने कौतुहलता बढ्न थालेको छ । अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामसोहनले ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा (एमाले)का श्रीराम थारुले ३५२ मत प्राप्त गरेका थिए । यसैगरी तत्कालीन नेकपा (माओवादी) केन्द्रका रामशरण थारुले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोख्रेलले ५६ मत प्राप्त गरेका थिए ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधन भएको थियो । कोहलपुर नगरपालिकाको वडा नम्बर ६ अहिले कार्यवाहक अध्यक्षको भरमा चल्दै आएको छ ।

राप्रपाको आफ्नै दाउ

प्रमूख दुई दलले थारु उम्मेद्वार अघि सारेकै कारण त्यसको फाइदा आफूलाई भएको राप्रपाको दावी छ । नेकपा र काँग्रेसबीच कडा प्रतिश्पर्धा हुने र त्यही बीचबाट आफ्नो जित निकाल्ने दाउमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्र बनाएको राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले बताए ।

उनले भने, ‘हामीले चुनावी अभियानलाई प्रविधिमैत्री बनाएका छौं । सबै टोलमा उम्मेद्वारसहित प्रचारका कामहरु भइरहेका छन् । तयसका साथै हामीले प्रोजेक्टरमार्फत पार्टीका प्रतिवद्धताहरु आम मतदाताहरुसामु राखिरहेका छौं । हामीले अन्य दलभन्दा योग्य, शिक्षित र युवा उम्मेद्वार छनौट गरेकाले जीत सुनिश्चित छ ।’

गाउँको विकास र समृद्धिको लागि मतदाताले राप्रापालाई मतदान गर्ने केन्द्रीय सदस्य देवकोटाको दावी छ । जिल्लामै एउटा मात्र वडामा उपनिर्वाचन हुन लागेकोले सबै दलहरुको ध्यान कोहलपुर वडा नं. ६ मै गएको छ । सत्तारुढ नेकपा र प्रमूख प्रतिपक्षी दल काँग्रेसले थारु समुदायबाट उम्मेद्वार उठाएका छन् ।

राप्रपाले भने पहाडी समुदायबाट उम्मेद्वार छनौट गरेको छ । थारु मतदाता धेरै रहेको वडा भएकाले दुई ठूला दलले थारु समुदायबाट उम्मेद्वार बनाउँदा थारु समुदायको मत विभाजन हुने र त्यसको फाइदा राप्रपालाई हुने अनुमान गरिएको छ । जिल्लामा एकमात्र उपनिर्वाचन हुने वडा भएपछि सर्वत्र चासो बढेको छ ।

गणितीय जोड घटाउकै बीचबाट जीतको दाउ मार्न राप्रपाबाट युवा नेता श्रीधर सुवेदी लागिरेका छन् । वडाबासीबीच निकै लोकप्रिय बनेका सुवेदीले त्रिपक्षिय भिडन्तबाट आफ्नो स्थान सुरक्षित हुनेमा ढुक्क छन् । पत्रकारिता हुँदै राजनीतिमा होमिएका श्रीधर हरेक कोणबाट वडाध्यक्षका लागि योग्य, दक्ष र क्षमतावान भएको स्वयं वडाबासीहरुले नै बताउने गरेका छन् ।

वडाका युवामाझ लोकप्रिय श्रीधरको उम्मेदवारी यतिबेला नेकपा र काँग्रेसको टाउको दुखाई भएको छ । नयाँ जोसजाँगर र वडाको समृद्धिका लागि वडाध्यक्षका दाबेदार श्रीधर घरदैलोमा व्यस्त छन् । उनी आफूलाई कोहलपुर वडा नं. ६ को चौकीदार भएको बताउँछन् । उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउन हम्मेहम्मे हुने देखिएको छ ।

नेकपाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा सत्ता र शक्तिको प्रयोग गरिरहेको छ । दुई ठूला दलहरुबीच कडा प्रतिस्पर्धा हुने र त्यसबाट आफ्नो जीत निकाल्ने निश्चित भएको राप्रपाको दावी छ । ‘नेकपा र काँग्रेसको विकल्प राप्रपा नै हो । हाम्रो जीत निश्चित छ,’ राप्रपाका उम्मेदवार श्रीधरले भने, ‘मतदातासमक्ष पुगेर भोट मागिरहेका छौं ।’

यसअघि काँग्रेसले जितेको उक्त वडामा अहिले त्रिपक्षिय भीडन्त हुने देखिएको छ । मतदाताहरुले अहिले पार्टी र जातभन्दा माथि उठेर राप्रपाका उम्मेद्वारलाई सघाउने आशय व्यक्त गरेका छन् । नेकपा र काँग्रेस उम्मेदवारको तुलनामा राप्रपाका उम्मेदवार श्रीधर आमवडाबासीको रोजाईमा परेका छन् ।

काँग्रेसका उम्मेद्वार श्रीकृष्ण थारू यसअघि सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको तला थप्ने भन्दै महायज्ञ लगाएर लाखौं रकम हिनमिना गरेको विद्यालय स्रोतले जनाएको छ । नेकपाका उम्मेद्वार रामशरण थारुले तत्कालिन अवस्थामा माओवादी हुँ भन्दै वडाबासीलाई बेलाबेलामा सताउँदै आएकोले यी दुबै उम्मेदवार वडाबासीका लागि उपयुक्त नभएको भन्दै मतदाताहरुको छनौटमा श्रीधरले बाजी मार्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १७:५५