सूचनाको शक्ति - The Power Of Information

        

भारतले राजपत्रमा सूचना जारी गरे पनि जडिबुटी निकासीमा अझै अन्यौलता

बाँके । भारतको प्लान्ट क्वारेन्टाइनको अबरोधका कारण एक बर्षदेखि रोकिएको नेपाली जडिबुटीको निकासी अझै सुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ अर्थात २०७६ असोज १४ गते राजपत्रमा सूचना जारी गरी बिदेशबाट आयात गर्ने जडिबुटीको नयाँ सूची जारी गरेको थियो । नयाँ सूची जारी गरेसँगै एक बर्षदेखि रोकिएका जडिबुटीको निकासी खुल्ने कानुनी बाटो खुले पनि त्यसको कार्यान्वयन नहुँदा समस्या भएको नेपाली जडिबुटी व्यवसायीहरुको गुनासो छ ।

भारत सरकारको व्यवहारका कारण जडिबुटी निकासीमा अनेकौं समस्या खेप्नुपरेको यहाँका ब्यवसायीहरुले गुनासो गरेका छन् । भारतको रुपैडियास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले भारत सरकारको केन्द्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयबाट नयाँ सूची अनुसार जडिबुटीको निकासी खुल्ला गर्नु भन्ने लिखित पत्र नआएको बताउँदै नेपाली जडिबुटीको निकासी रोकिदिएको जडिबुटी ब्यबसायी संघ बाँकेका पूर्व अध्यक्ष राजेश जैनले बताए ।

‘भारतको रुपैडियास्थित ब्यवसायीले पनि भारतको प्लान्ट क्वारेन्टाइन र भन्सार कार्यालयले भारत सरकारले अक्टोबर १ मा जारी राजपत्र अनुसार निकासी सुचारु गर्नु भन्ने किसिमको कुनै पत्र र निर्देशन नआएको बताउँदै प्लान्ट क्वारेन्टाइन र भन्सारका अधिकारीले नेपाली जडिबुटी निकासी अझै रोकेका छन्,’ जडिबुटी व्यवसायी जैनले भने । राजपत्रमा भने जारी भएकै मितिदेखि कार्यान्वयन हुने भनेर प्रष्टरुपमा लेखिएको छ । तर, कार्यान्वयन नहुँदा त्यसको मर्का भने नेपाली जडिबुटी निकासी गर्ने व्यवसायीलाई परेको छ ।

‘भारत सरकारले अक्टोबर १ मा जारी गरेको राजपत्र १२२ किसिमका जडिबुटीको सूची थप गरिएको छ,’ भारतीय ब्यवसायी वकिल अहमद गुड्डुले भने, ‘नयाँ सूचीमा नेपालमा उत्पादन पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना, रिठा र सिकाकाई, टिमुर, कुट्की लगायतका अधिकांश जडिबुटीको नाम समाबेश गरिएको छ ।’ नयाँ सूची कार्यान्वयनमा आएपछि एक बर्षदेखि रोकिएको नेपाली जडिबुटीको निकासी खुल्ने जडिबुटी ब्यबसायीले बताएका छन् ।

भारत सरकारको प्लान्ट क्वारेन्टाइन विभागले विदेशबाट आयात गर्ने जडिबुटीको नयाँ सूचीमा जारी गरेपछि नेपालगन्ज नाकाबाट निकासी हँुदै आएका जडिबुटीको निकासीमा २०७५ मंसिरदेखि समस्या उत्पन्न भएको थियो । भारतको प्लान्ट क्बारेन्टाइनको अवरोधका कारण पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना र सिकाकाई रिठा, टिमुर, कुट्की लगायतका करिब ६० किसिमका जडिबुटी निकासी रोकिएको थियो । भारतको प्लान्ट क्वारेन्टाइनले निकासीमा अबरोध गरेपछि करिब १५ हजार टन जडिबुटी थन्किएको ब्यवसायीहरुले बताएका छन् ।

सरकारको प्रष्ट नीति नहँुदा अझै पनि किसानहरुले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न सकेका छैनन् । बन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानहरुले जडिबुटी खेती गर्ने क्रम अझै शुरु नभएका कारण जडिबुटी संकलन र विदेशी निकासी घट्दै गएको हो । करिब १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निकासी हुँदै आए पनि पछिल्ला बर्षमा घट्दै गएको छ । निकासी सुचारु नहुँदा नेपालको जडीबुटी व्यवसाय ठप्प भएको छ ।

भारत निर्यात गर्न संकलन गरेर ल्याइएको जडीबुटी नेपालगन्जका व्यापारीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । ‘नेपालमा उत्पादित जडीबुटी निकासी नखुल्दा व्यवसाय नै ठप्प भएको छ,’ उनले भने । उनले भारत सरकारले नयाँ सूची जारी गरे पनि रुपैडिहास्थित प्लान्ट क्वारेन्टाइनले निकासी खुल्ला नगरेपछि जडिबुटी व्यवसाय ठप्प भएको बताए । ‘अधिकांश जडीबुटी भारत निर्यात हुन्छ, भारतले जडीबुटी निर्यात खुल्ला नगरेपछि नेपालगन्जका १०० भन्दा बढी व्यवसायीको व्यवसाय धरापमा परेको छ,’ उनले भने ।

गोदाममा कुहिँदै जडीबुटी

निकासी खुल्ला नभएपछि गोदाममा थन्किएको जडीबुटी कुहिन थालेको छ । भण्डारण गरिएका जडीबुटीमा ढुसी लाग्ने र ओसिएर कालो हुन थालेको व्यापारीहरुले बताएका छन् । लामो समयसम्म गोदाममा भण्डारण गरेका कारण जडीबुटीको गुणस्तरियता खस्किँदै गएको जडिबुटी व्यवसायी जैनले बताए । उनले भने, ‘लामो समयसम्म भण्डारण गर्दा जडीबुटीमा हुनुपर्ने गुण ह्रास हुन्छ ।’ कुहिन थालेपछि भण्डारण गरिएका जडीबुटी सुकाएर पुनः भण्डारण गर्न बाध्य भएको जडीबुटी व्यवसायी शकील अहमद जसगढले बताए ।

‘जडीबुटी नेपालगन्जमा जाम भएकोले लाखौँ रुपैयाँ थन्किएको छ,’ उनले भने । भारतले नेपालमा उत्पादन हुने ५४ प्रकारका जडीबुटीको निकासीमा नयाँ सूची जारी गर्नुअघि निकासी बन्द गरेको थियो । ‘निकासी बन्द भएपछि पहाडी जिल्लामा संकलनको कामसमेत रोकिएको छ,’ अध्यक्ष अन्सारीले भने । संघका अनुसार नेपालगन्ज नाकाबाट वर्षेनी करिब ५० करोडबराबरको ६५ हजार मेट्रिकटन जडीबुटी भारत निकासी हुँदै आएका हाल बार्षिक २० हजार मेट्रिकटन निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १२:५८