सिक्टा सिँचाइ आयोजनाको पश्चिम नहर । फाइल तस्वीर
बाँके । गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका बिषयमा टुंगो लागेको छ । सिक्टाको पूर्वी खण्ड बिस्तारका लागि नरैनापुर क्षेत्र अन्तरगत कहाँबाट नहर बिस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।
लामो समयदेखि विवादित हुँदै आएको उक्त क्षेत्रमा पूर्व निर्धारित योजना मुताविक नहर निर्माण गर्ने सहमति भएको हो । बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज अथक र प्रदेश सभा सदस्य कृष्णा केसी नमुनासहितको उपस्थितिमा नरैनापुर क्षेत्रमा सिक्टाको नहर निर्माण कार्यलाई निरन्तरता दिने निर्णय भएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
नहर निर्माणका क्रममा कुनै समस्या उत्पन्न भएमा नरैनापुर गाँउपालिका अध्यक्षसहित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले सहजीकरण गर्ने सहमति भएपछि पूर्वी नहर निर्माणको बाटो खुलेको हो । साथै बैठकमा सिक्टा सिचाई नहर निर्माण कार्यसँगै पानी पनि छोड्दै जाने सहमति भएको सिक्टा सिचाइ आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए ।
नहर बिस्तार कार्यमा किसानको जमिन क्षति भएमा चलन चल्तीकै दरमा आयोजनाले मुआब्जा दिने सहमतिसमेत भएको छ । राप्तीपारि पूर्वी नहर निर्माण कार्य सम्पन्न भएमा नरैनापुर क्षेत्रको ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ । नहर निर्माणका लागि सहमति जुटेपछि केही दिनभित्रै इन्जिनियरको टोलीले उक्त क्षेत्रको सर्बे गर्ने आयोजनाले जनाएको छ ।
सत्यपाटी ।