बाँके । लागुऔषध नियन्त्रणमा सक्रिय रहेको बर्दिया प्रहरीलाई ठूलो सफलता मिलेको छ । लागुऔषध ओसारपसारमा आक्रमकरुपमा अघि बढेको बर्दिया प्रहरीले अहिलेसम्मकै ठूलो परिणामको लागुऔषध सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष सूराकीको आधारमा गएराती ५८ केजी चरेससहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटेको गस्ती टोलीले गुलरिया नगरपालिका–८ भन्सार रोडबाट ५८ किलो लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार उनीहरूले बोकेको झोला खानतलासी गर्दा ५८ किलो चरेस, ३२ हजार पाँचसय नगद र पाँच थान मोबाइल प्रहरीले बरामद गरेको हो । दाङ र पूर्वी रुकुमका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको हो । पक्राउ पर्नेमा तीन जना महिला र दुई जना पुरुष रहेका छन् ।
पक्राउ पर्नेमा पूर्वी रुकुम पुठा उत्तरगंगा गाँपालिकाका २६ वर्षिय अस्मिाता रामजाली, पूर्वी रुकुमकै ३४ वर्षिय राजकुमार पुन, पूर्वी रुकुम भूमी गाँउपालिकाकी २७ वर्षिय जुनतारा पुन, ३४ वर्षी सुनथामी बुढामगर र दोइखोली गाँउपालिका–८, पासावाङ्गका खिमप्रसाद रोकामगर रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओली बताउँछन् । प्रहरी निरीक्षक ओलीले बरामद गरिएको लागुऔषध अहिलेसम्मकै ठूलो परिणाममा रहेको बताए । प्रहरीले उनीहरुको साथबाट ५८ किलो चरेससहित भारतीय र नेपाली रुपैयाँ गरि नगद ३२ हजार ५९८ रुपैया र पाँच थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरु सबै लामो समयदेखि लागुऔषध ओसारपसारमा सक्रिय रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरी निरीक्षक ओलीले पक्राउ परेकाहरु पटके तस्कर भएको खुल्न आएको बताए । पछिल्ला समय प्रहरीले जिल्लामा हुने लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष निगरानी बढाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा (घ) को ५ अनुसार १० किलो ग्राम भन्दा माथी जति सुकै भए पनि २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहको छ ।
सत्यपाटी ।