सूचनाको शक्ति - The Power Of Information

        

मानव बेचबिखनविरुद्ध विद्यार्थीलाई तालिम

बाँके । बाँके जिल्लाका बिभिन्न विद्यालयका माध्यामिक तहका विद्यार्थीहरुलाई मानव बेचविखनविरुद्ध तीन दिवशीय तालिम दिइएको छ । विद्यालय एवं समुदायस्तरमाा चेतना अभिबृद्धि गर्ने उद्देश्यले माइती नेपाल नेपालगन्जले मानव बेचबिखनविरुद्ध विद्यार्थीलाई तालिम दिएको हो । तालिमको सहजीकरण गर्दैै माइती नेपाल नेपालगंजका कार्यक्रम संयोजक केशव कोइरालाले मानव वेचविखनको वर्तमान अवस्था तथा माइती नेपालले मानव वेचविखनविरुद्ध गर्दै आएका कामका बारेमा जानकारी दिए ।

अधिकारकर्मी कमला पन्तले आन्तरीक तथा वाह्य बसाइसराईका बारेमा सहजीकरण गरेकी थिइन् । माइती युवा संघका मेघबहादुर खत्रीले मानव वेचविखनविरुद्धमा विद्यार्थीहरुको भूमिकाका बारेमा सहजीकरण गरेका थिए । यस्तै माइती युवा सञ्जाल बाँकेका पे्रस सल्लाकार मधु पौडेलले मानव वेचविखन हुन सक्ने स्थान, तरिका, प्रयोजन तथा कारणका बारेमा सहजीकरण गरेका थिए । तालिममा जिज्ञासा राख्दै सहभागीहरु दिपशिखा भण्डारी, देवयानी अधिकारी, स्वता वैश्य, दिक्षा वली, पवित्रा थापा लगायतले तालिम निकै सान्दर्भिक रहेको बताए ।

उनीहरुले मानव बेचबिखन निकृष्ट अपराध भएकाले यसकाविरुद्ध सबै मिलेर लाग्नुपर्ने बताउँदै तालिमले आफूहरुलाई थप ज्ञान दिएको बताए । ‘तालिमले हामीलाई धेरै कुरा सिकाएको छ, आगामी दिनमा हामी मानव बेचबिखनविरुद्धका अभियान सञ्चालन गर्न ज्ञान एवं प्रेरणादायी हुनेछ,’ सहभागीहरुले भने । कार्तिक २८ गतेदेखि सुरु भएको तालिमको समापन गर्दै माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले मानव वेचविखन सम्बन्धी विभिन्न कार्यक्रममा विद्यार्थीहरुको सहभागिता प्रभावकारी रहेको बताए ।

कार्यक्रममा माइती नेपालका रञ्जना रिमालले मानव बेचबिखनका लागि भएका प्रयासका बारेमा अन्तरक्रिया गरेकी थिइन् । मानव बेचविखनमा २००६ सालयता सीमापार यौन शोषण तथा श्रम शोषण र अंग बेचविखनका लागि हुने गरेको बताइएको थियो । १९९० देखि २००६ सम्मका घटनालाई हेर्दा सीमापार साथै डान्सबार, क्याविन रेष्टुरेन्ट, मसाज पार्लरजस्ता ठाउँमा यौन शोषणका लागि बढ्दो आन्तरिक बेचबिखन भए पनि वर्तमान अवस्थामा यौन शोषण तथा अन्य प्रयोजनका लागि वैदेशिक रोजगारका क्रममा श्रमशोषण र अंग बेचविखन हुने गरेको तालिममा बताइएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतवार ०७:१८