सूचनाको शक्ति - The Power Of Information

        

दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार बरामद

कपिलवस्तु । दाङ र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रबाट दाङ प्रहरीले ठुलो परिमाणमा हतियार बरामद गरेको छ । कपिलबस्तुको शिवराज नगरपालिका–१ स्थित खाली गोठबाट प्रहरीले नेत्रविक्रम चन्द समुहका एसएमजी लगायत हातहतियारसहित ३९० राउण्ड गोली फेला पारेको छ ।

गोप्य सूचनाको आधारमा पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र गढवा ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले दाङको गढवा गाउँपालिका र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ को सिमानाबाट राईफलको म्याग्जिन १३ थान, राइफलमा प्रयोग हुने ३९० राउण्ड गोली, एसएमजी राइफल ५ थान, हतियार राख्न प्रयोग हुने सुटकेश १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

बेवारिसे अवस्थामा रहेको एक खाली गोठमा सुटकेशभित्र राखेर त्यसलाई झारपातले छोपेर लुकाई राखेको अवस्थामा हातहतियार फेला परेको प्रहरीले जनाएको छ । गत असोज ३० गते प्रहरीले दाङको गढवा गाउँपालिकाको नेपाल–भारत सीमा नाका क्षेत्रवाट विप्लवका दाजु ‘बीरजंग’सहित राप्ती व्यूरोका २१ नेता कार्यकर्ता पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार १६:०१