सूचनाको शक्ति - The Power Of Information

        

सडक अतिक्रमणको चपेटामा नेपालगन्ज, अतिक्रमणकारीलाई उद्योग वाणिज्य संघको साथ

बाँके । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ । चारलेन सडकको बिपी–गणेशमान चोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् ।

सडकको किनारमा रहेको फुटपाथ पैदलयात्रीका लागि आवतजावत गर्ने ठाउँ भए पनि त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले समेत अतिक्रमणकारीलाई साथ दिएको स्थानीयको गुनासो छ ।

अतिक्रमण हटाउने अभियानमा उपमहानगरपालिकाले सहयोग र समन्वयका लागि अनुरोध गरेको जानकारी दिँदै सङ्घका अध्यक्ष नन्दलाल वैश्यले फुटपाथ तथा सडक अतिक्रमणमा आफूले सहयोग गर्ने उल्लेख गरे । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सडक तथा फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्दै आएकालाई सूचना जारी गरिसकिएकाले अब सडक तथा फुटपाथमा राखिएका ठेला तथा पसलहरु जफत गरिने बताए ।

‘हामीले धेरै पटकसम्म सडक अतिक्रमण गरी पसल तथा ठेला नलगाउन अनुरोध गर्दै आउँदासमेत अटेरी गरेको हुँदा अब जफत भएका कुनै पनि सामान फिर्ता हुनेछैन,’ उनले भने, ‘अतिक्रमणले फुटपाथमा हिँड्ने पैदलयात्रीलाई असुविधा भएकाले यस्तो अभियान चाल्न बाध्य भएका हौँ ।’ गतवर्ष उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर फुटपाथ हटाउने प्रयास गरेको थियो ।

फुटपाथ अतिक्रमण गरेर व्यापार गर्दै आएका बिपीचोक र पुष्पलालचोक क्षेत्रका व्यापारीले उपमहानगरपालिकाको उक्त कदमको विरोध गरेपछि व्यापारीको विरोधपछि उपमहानगरपालिका हच्किएको थियो । फुटपाथ खाली गर्न सर्वपक्षीय र सर्वदलीय बैठकले नै सहमति दिएको थियो । चारलेन सडकको दायाँबायाँ २५ मिटरभित्र अहिले पुनः अस्थायी संरचना राखिएका कारण सडक दुर्घटनासमेत बढेको ट्राफिक प्रहरीका नायब निरीक्षक भीम वलीले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १४:२४