अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गम्भीर संकटको सम्भावना
सत्यपाटी ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई सुरु भएको छ । राजधानी वासिङ्गटन डिसीमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा पहिलोपटक घटनाका बारेमा जानकारी रहेको ठानिएका उच्च अधिकारीहरुसँग सार्वजनिक रुपमा सुनुवाई सुरु गरिएको हो ।
यसअघि अनुसन्धान गरिरहेका संसदीय समितिले ती अधिकारीसँग सुनुवाई गरिसकेको थियो, तर त्यो सार्वजनिक थिएन । तर बुधबारदेखि सार्वजनिकरुपमा सुनुवाई सुरु भएको हो । सार्वजनिकरुपमा भएको सुनुवाईको क्रममा एक उच्च अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले सीधै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पूर्व उपराष्ट्रपति जो बाइडेनका सम्बन्धमा अनुसन्धान गर्न भनेको बताएका छन् ।
ट्रम्पले आफ्नो सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी धुमिल बनाउनका लागि विदेशी शक्तिको सहयोग मागेको आरोप छ । जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि छन् । सार्वजनिक सुनुवाईको क्रममा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्पले निकै जोडका साथ पूर्व उपराष्ट्रपति बाइडेनका सम्बन्धमा भ्रष्टाचार आरोपमा छानबिन गर्न आग्रह गरेको बताएका हुन् ।
राजदूत टेलरले आफ्ना सहकर्मीले दिएको जानकारी उद्धृत गर्दै सुनुवाईको क्रममा यस्तो बताएका हुन् । राजदूत टेलरले महाभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा पहिलोपटक सार्वजनिक रुपमा भएको सुनुवाईमा बोलेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग प्रतिक्रिया दिँदै आफूले त्यस्तो टिप्पणी या आग्रह गरेको स्मरण नरहेको बताएका छन् । ट्रम्पमाथि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोप छ ।
ट्रम्पले आफूले कुनै अवैध काम नगरेको र भइरहेको महाभियोग लगाउने सम्बन्धी अनुसन्धान ‘विचहन्ट’ रहेको बताउँदै आएका छन् । सार्वजनिक रुपमा भएको सुनुवाईको सुरुवातमा राजदूत टेलरले आफ्नो कार्यालयका एक सहकर्मीले ट्रम्पले गरेको टेलिफोन वार्ता सुनेको र त्यसमा ट्रम्पले बाइडेनमाथि गर्ने भनिएको अनुसन्धानका बारेमा के भइरहेको छ ? भनेर जानकारी लिएको बताए । सो टेलिफोन ट्रम्पले युरोपियन युनियनका लागि अमेरिकी राष्ट्रपति गोर्डन सनड्ल्याण्डलाई गरेका थिए ।
जवाफमा गोर्डनले युक्रेन त्यस सम्बन्धमा प्रक्रियाअघि बढाउन तयार रहेको बताएको दाबी गरिएको छ । ट्रम्पले गोर्डनसँगको टेलिफोन संवाद सकेपछि आफ्ना सहकर्मीले त्यसबारे बुझेको टेलरले बताएका छन् । गोर्डनले टेलिफोन राखेपछि आफ्ना सहकर्मीले राष्ट्रपति ट्रम्प युक्रेनका बारेमा के सोच्नु हुँदोरहेछ ? भनेर सोधेरको र त्यसको जवाफमा गोर्डनले ‘राष्ट्रपतिलाई जो बाइडेनका सम्बन्धमा गर्न भनेको अनुसन्धानमा बढी चासो छ’ भनेको टेलरले सुनुवाईको क्रममा बताएका छन् ।
सनड्ल्याण्डका बारेमा नोभेम्बरको सुरुमा सोधिँदा ट्रम्पले आफूले उनलाई खासै नचिन्ने बताएका थिए । सुनुवाईपछि पत्रकारले ट्रम्पसँग प्रक्रिया लिएका थिए । ट्रम्पले यसबारे आफूलाई केही जानकारी नरहेको र आफूले पनि पहिलोपटक सुनेको बताएका छन् । ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपतिलाई गरेको टेलिफोन वार्तालाई मुख्य आधार बनाएर सुरु भएको अनुसन्धानमा गोर्डनसँगको टेलिफोन वार्ता नयाँ प्रमाणमा रुपमा आउने देखिएको छ ।
सत्यपाटी ।