सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–कोहलपुर सडकमा ‘रिफ्लेक्ट स्टिकर’

बाँके । सडक दुर्घटना न्यूनीकरणका लागि बाँके ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ । सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरीक्षक पबिन्द्र बमले बताए ।

नेपालगन्ज–कोहलपुर सडकमा विशेषगरी रातीको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको उनले बताए । प्रहरी निरीक्षक बमका अनुसार नेपालगन्ज–कोहलपुर सडकमा दुर्घटना बढ्न थालेपछि रिफ्लेक्ट स्टिकर टाँसिएको हो । उनले भने, ‘नेपालगन्ज–कोहलपुर सडक खण्डमा रातीको समय बढि दुर्घटनाहरु हुन थालेको पाइएकाले स्टिकर टासिएको हो ।’

खुला सडक, तीव्र गति, मनपरि बाटो काट्ने, जहाँ पायो त्यही पार्किङ्ग गर्ने तथा पर्याप्त लाइटिङ्गको कमीका कारण रातको समय नेपालगन्ज–कोहलपुर सडकमा दुर्घटना हुने गरेको उनी बताउँछन् । ट्राफिक प्रहरी निरीक्षक बमले भने, ‘रिफ्लेक्ट स्टिकरले रातमा सवारीसाधन चलाउन सहजता दिए पनि यतिले मात्र सडक दुर्घटना न्यूनीकरण हुँदैन । सबैजना सचेत र सजग हुुनपर्छ ।’

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलमात्र सम्भव नभएको बताउँदै उहाँले सवैको साथ र सहयोग हुनुपर्ने बताए । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक अनुसार असोज १२ गतेदेखि कात्र्तिक २५ गतेसम्म २९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा सात जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् । दुर्घटनामा परि दुई वटा पशु चौपायासमेत मरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार ०६:१३