सूचनाको शक्ति - The Power Of Information

        

पढ्ने उमेरमा भारी बोक्नुपर्ने बाध्यता

बझाङ । सामान्यतया बालबालिकाहरु विद्यालयमा पढ्दै गरेको अवस्थामा भेटिन्छन् । यो उमेरका बालबालिकालाई के खाउँला के लाउँला भन्ने चिन्ता पनि हुँदैन । न त घर खर्च कसरी चलाउँला भन्ने चिन्ता नै हुन्छ । नेपालको संविधानले पनि बालबालिकाको यो हकको ग्यारेन्टी पनि गरेको छ ।

नेपालको संविधान २०७२ को भाग ३ अन्तरगत मौलिक हक, कर्तव्य र धारा ३९ मा बालबालिकाको हकको उपधारा २ मा परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरन्जन लगायतको हकको व्यवस्था गरिएको छ । संविधानमा भएको यो व्यवस्थाले बझाङको देउरा बजारका बालबालिकाको हक भने सुरक्षित गर्न सकेको छैन ।

पढ्नकै लागि मात्र नभएर कापी कलम किन्न र विहान बेलुका हातमुख जोर्नकै लागि स–साना बालबालिकालाई सिमेन्ट र चामलका बोरा बोक्नुपर्ने बाध्यता छ । हास खेल गर्ने उमेरका बालबालिका आफुभन्दा बढी तौलको भारी बोक्दै पसिना बगाइरहेका छन् । १३ बर्षिया नरेश नेपालीसहित उनका साथीहरु देउरा बजारमा भारी बोक्दै आएका छन् ।

कापी कलम किन्न र परिवारको छाक टार्नकै लागि भारी बोक्दै आएको ती बालबालिकाले बताए । ‘भारी बोकेको पैसाले सागपात लैजान ठिक्क हुन्छ,’ देउरा बजारमा भेटिएका नरेशले भने, ‘भारी बोकेको पैसाले घर खर्चका साथै पढाई खर्चको पनि जोहो गर्दै आएका छौं ।’ उनीहरु देउरा बजारमा गाडीबाट माल सामान लोड अनलोड गर्ने सिमेन्टका बोरा, सरियाहरु बोक्ने र घर निर्माणमा मजदुरीसमेत गर्दै आएका छन् ।

‘घरको आर्थिक अवस्था कमजोर छ । बुवा, आमाको पनि कमाइ छैन,’ उनले भने, ‘हामी गाउँतिरका स्कुल पढ्ने साथीहरु विदाको दिन र विहान बेलुका समय मिलाएर मजदुरी गर्न बाध्य छौ ।’ संविधानको भाग ३ कै धारा ३९ को उपधारा ४ मा बालबालीकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने व्यवस्था पनि गरिएको छ ।

देउराका १० बर्षिया प्रविन नेपालीलाई भने यो व्यवस्थाले छोएको छैन । उनी भन्छन्, ‘पढ्नका लागि विद्यालय जान नपाउँदा राम्रो नलागे पनि भारी नबोकेर छाक टर्दैन । आमा बुवा इन्डिया हुनुहुन्छ, घरमा साना भाई बहिनीको पनि हेरचाह र खाने गुजारा मैले नै गर्नुपर्छ ।’ उनीहरुले भारी बोकेर दैनिक ५० देखि ५०० रुपैयाँसम्म कमाउने गरेका छन् ।

संविधानले बालअधिकारका लागि जेजस्तो व्यवस्था गरेको भए पनि ग्रामीण भेगका विपन्न गरिब परिवारका बालबालिका देउरा बजारमा मात्रै नभएर जिल्लाका अन्य झोता, तमैल बजारका साथै चैनपुर बजारमा पनि जोखिमपूर्ण परिश्रम गर्न बाध्य छन् । जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुले बालबालिकाको हकअधिकार संरक्षण र क्षमता विकासका लागि विभिन्न कार्यक्रम हुँदै आए पनि यी बालबालिकालाई भने यस्ता कार्यक्रमले छोएको पाइँदैन ।

गरिब तथा विपन्न घर परिवारका बालबालिकाहरु ग्यारेजमा गाडी मर्मत गर्ने, होटलमा भाडा माझ्ने, गाडीमा खलासीको रुपमा जोखिमपूर्ण काम गर्ने गरेको पाइन्छ । देउरा बजारमा विगत एक बर्षदेखि ज्याला मजदुरी गर्दै आएका नरेश र प्रविन स्थानीय जनचेतना आधारभूत विद्यालय देउरामा कक्षा ३ मा अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १७:४५