सूचनाको शक्ति - The Power Of Information

        

नगरपालिकाकै भवन एक बर्षदेखि अलपत्र, भाडाको घरबाट कार्यालय सञ्चालन

एक बर्षअघि निर्माण भएर अलपत्र अवस्थामा रहेको बझाङ्गको चैनपुरस्थित जयपृथ्वी नगरपालिका भवन ।

एक बर्षअघि निर्माण भएर अलपत्र अवस्थामा रहेको बझाङ्गको चैनपुरस्थित जयपृथ्वी नगरपालिका भवन ।

बझाङ । भवन निर्माण भएको एक बर्ष बितिसक्यो, निर्माणपछि ठेकेदार कम्पनीले नगरपालिकालाईृ भवन हस्तान्तरण पनि गरिसक्यो । तर, बझाङ्गको जयपृथ्वी नगरपालिका चैनपुरले भने मासिक एक लाख रुपैयाँ तिरेर अन्यत्रैबाट कार्यालय सञ्चालन गरिरहेको छ ।

कार्यालय प्रयोजनका लागि सदरमुकाम चैनपुर नजिकै रिठापाटाको सिमखेतमा एक बर्षअघि नै भवन निर्माण भइसकेको छ । नगरपालिका कार्यालय भने हालसम्म त्यहाँ सरेको छैन । ठेकदारले भवन र्निमाण गरेर एक बर्षअघि नै हस्तान्तरण गरे पनि करोडौं लगानीमा निर्माण भएको भवन बेवारिसे छ ।

नगरपालिकाको आफ्नो भवन हुदाँहुदै नगरपालिकाका केहि जनप्रतिनिधि र केहि कर्मचारीहरुको कमिसन मोहका कारण नगरपालिकाको कार्यालय भाडाकै घरबाट सञ्चालनमा आइरहेको बुझिएको छ । सदरमुकाम चैनपुर बजारभित्रै दुई वटा घर भाडामा लिएर एउटा घरको मासिक ५३ हजार र अर्को घरको मासिक ५५ हजार रुपैयाँ नगरपालिकाले भाडा तिर्दै आएको छ ।

नगरपालिका घोषणा भएसँगे केन्द्र सरकारको बजेटबाट भवन निर्माण गरिएको थियो । भवनको लागि रिठापाटाका नागरिकले ६ रोपनी जग्गा निशुल्क दिएका थिए । ‘त्यसबेला कसैले जग्गा दिएनन्, हामीले नगरपालिकाको कार्यालय बनाउनकै लागि ६ रोपनी जग्गा दिएका थियौं । भवन बन्यो, अहिले अलपत्र छ,’ रिठापाटाका नारद खड्काले भने ।

नगरपालिककाका नायब सुब्बासमेत रहेका खड्काका अनुसार नगर प्रमूख लगायत अन्य केही कर्मचारीहरुले कार्यालय सार्न मानेका छैनन् । ‘उहाँहरुको स्वार्थ के हो ? समस्या के छ ? कार्यालय सार्नै मान्नु भएको छैन,’ नासु खड्काले भने । भाडामा लिएको एउटा घर जयपृथ्वी नगरपालिका ईन्जिनियरकै हो भने अर्को घर छान्नाका एक व्यापारीको हो ।

रिठापाटामा बनेको दुई तले नयाँ भवनमा ११ कोठा छन् । रंगरोगन र घेरबार गरेर चिटिक्ट परेको भवन एक वर्षदेखि उपयोगमा नआएपछि रिठापाटाका स्थानीयहरु नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरुको व्यक्तिगत स्वार्थका कारण कार्यालय चैनपुरबाट बाहिर आउन नसकेको बताउँछन् ।

जनताले तिरेको करबाट घरभाडा तिर्ने र घरधनीसँग कमिसन खाएर आफ्नै भवनमा कार्यालय नसारेको स्थानीयको आरोप छ । सुवेडाका स्थानीय रमेश महरले चैनपुर बजारभन्दा बाहिर आउन नसक्ने जनप्रतिनिधिहरुको रबैया र संकुचित मानसिकताले अनावश्यकरुपमा नगरपालिकाले घरभाडावापत मासिक एक लाख रकम तिर्नुपरेको बताए । नयाँ बनेको नगरपालिका भवन नजिकै मालपोत नापी र सिँचाइ साथै जिल्ला स्वास्थ्य कार्यालय पनि छन् ।

नगरपालिका भूगोलको हिसावले पनि नयाँ भवन बनेको स्थान पायक पर्ने स्थानीयहरुको भनाई छ । जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले नयाँ भवनको सम्दर्भमा कार्यालय सार्ने भनेर पाँच महिनाअघि नगरकार्य समितिले निर्णय गरेको भए पनि कार्यालय भाडाकै घरबाट सञ्चालन भइरहेको स्वीकार गर्दै कार्यालय नसार्नुमा कसको के स्वार्थ बाँक्रिएको छ, आफु पनि अन्यौल परेकी बताइन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १७:२०