सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयबासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ ।

कात्तिक २३ र २६ गते जंगलमा घाँस दाउरा काट्न गएका दुई महिलाले बाँघको आक्रमणबाट ज्यान गुमाउनु परेको छ । २०७५ माघदेखि हालसम्म पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सात जनाको मृत्यु भइसकेको छ । निकुञ्ज तथ्यांक अनुसार बाघको आक्रमणमा परेर बर्दियामा चार र बाँकेमा तीन जनाको ज्यान गइसकेको छ ।

कात्तिक २३ गते शनिकार जंगलमा घाँस काट्न जाँदा कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेत र मंगलबार राप्तीसोनारी–८ बालापुरकी ६० वर्षिया ठगी खड्काको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण अािर्थक वर्ष २०७५/०७६ मा ४१८ घरधुरीमा क्षति पुगेको तथ्यांक छ । उनीहरुलाई क्षतिपूर्ति वापत निकुञ्जले रु.६० लाख ९३ हजार ४२ उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३०५ घरधुरीमा क्षति पु¥याएका थिए । उक्त आवमा वन्यजन्तु पीडितहरुलाई रु.१४ लाख २८ हजार ७२ रकम वितरण गरिएको निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५/०७६ मा भएको सडक दुर्घटनामा ४५ वटा वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव ०७४/७५मा ७२ वटाको बन्यजन्तुको मृत्यु भएको थियो भने आव २०७३/०७४ मा ८३ वटा वन्जन्तुको सडक दुर्घटनावाट मृत्यु भएको थियो । वन्यजन्तु संरक्षण गर्ने क्रममा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आव २०७५/०७६ मा वर्षमा ४३१ वटा वन्यजन्तुको उद्दार गरेको तथ्यांक निकुञ्जमा रहेको छ । निकुञ्जले आव २०७४/०७५ मा ११ वटा वन्यजन्तुको उद्दार गरेको थियो ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाई छ । सरकारी तथ्यांकअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ वटा र बाँके राष्ट्रिय निकुञ्ज २१ वटा पाटेबाघ छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयको सक्रियताले बाघको संख्या बढे पनि आहाराको कमीले मानव वस्तीमा पुगेर वन्यजन्तुको आक्रमण र मानव–बन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न सरोकारवालाहरु गम्भीर भएर लाग्नुपर्ने स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १६:३३