सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा उपनिर्वाचन : पाँच दलद्वारा उम्मेद्वारी दर्ता, मतदाताको रोजाइँमा राप्रपा

बाँके । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बाँकेको कोहलपुर नगरपालिका–६ मा हुने उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दलले उम्मेद्वारी दर्ता गरेका छन् । स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरका अनुसार तोकिएको समयमै दलहरुले उम्मेद्वारी दर्ता गरेका छन् ।

कार्यालयका अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले उम्मेद्वारी दर्ता गरेका छन् । २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि कोहलपुर वडा नंं ६ मा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाबाट रामशरण थारु र काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दिपालक्ष्मी हमालले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले दलहरुलाई उम्मेदवारको मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिएको थियो ।

प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले दलहरुलाई दिइएको समयमै दर्ता प्रक्रिया सम्पन्न भएको बताए । उम्मेद्वारी दर्ताका लागि दलहरुले आ–आफ्ना सम्पर्क कार्यालयबाट विभिन्न साँस्कृतिक झाँकीसहित र्‍याली निकालेका थिए । उपनिर्वाचन हुन लागेको वडा नं. ६ मा प्रमूख तीन दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कोहलपुर–६ मा उपनिर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसार पनि तीव्र बन्दै गएको छ । उम्मेद्वारी दर्तासँगै दलहरुका प्रचार अभियान थप आक्रामक बन्दै गएका छन् । त्रिपक्षिय प्रतिश्पर्धा हुने आँकलन गरिएको निर्वाचनमा प्रमूख दुई दललाई पछाडी पारेर तेस्रो दल राप्रपा जीत निकाल्ने दाउमा छ ।

निर्वाचित जनप्रतिनिधि गुमाएपछि वडाबाट हुने काममा विभिन्न समस्या भोगिरहेका वडाका मतदाताहरुले योग्य र शिक्षित युवा उम्मेद्वारलाई मतदान गर्ने तयारी गरिरहेका छन् । विचार र आस्थाका आधारमा नभएर योग्य उम्मेद्वार छनौट गर्ने मतदाताहरुको साझा भनाई रहेको छ । ठूला दुई दलले ल्याएका उम्मेद्वारप्रति भरोसा नभएको मतदाताहरुको प्रतिक्रिया छ ।

उपनिर्वाचन नजिकिँदै गर्दा मतदाताको कदर गर्ने उम्मेद्वारलाई नै मतदान गर्ने वडाबासीहरुको भनाई छ । वडाको विकास र निकासका लागि सक्षम र योग्य उम्मेद्वार नै चाहिने भन्दै वडाबासीहरुले आधा कार्यकालका राप्रपाका उम्मेद्वारलाई मतदान गर्ने संकेत गरेका छन् । यसले उपनिर्वाचनमा राप्रपाका उम्मेद्वारको जीत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १६:१५