सूचनाको शक्ति - The Power Of Information

        

पाटेबाघको आक्रमणमा ठगी खड्काको मृत्यु

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । बाँकेको राप्तीसोनारी–८ शिवशक्ति सामुदायिक बनमा घाँस काट्न गएकी एक महिला पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ । योसँगै बाँकेमा दुईदिनको अन्तरालमा बाघको आक्रमणमा परेर दुई महिलाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार मंगलबार बिहान ९ बजे राप्ती सोनारी–८ बालापुरकी ६० वर्षिया ठगी खड्काको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको हो । घाँस काट्न शिबशक्ति सामुदायिक वनको जंगलको डप्का खोला क्षेत्रमा गएको बेलामा पाटेबाघले आक्रमण गरी छातीको भाग खाएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक हेमबहादुर शाहीले मृतक खड्काले जानकारी दिए ।

मृतक खड्का मंगलबार बिहान ९ बजेको घरबाट घाँस काट्न भनी जंगल गएको र लामो समयसम्म घर नफर्केपछि घरपरिवारबाटै खोज्न जानेक्रममा शिबशक्ति सामुदायिक वनको जंगलमा डप्का खोला नजिकै पाटेबाघले आक्रमण गरी छातीको भाग खाई मृत अवस्थामा फेला परेको थियो । उनले प्रहरले घटनाको जानकारी पाउने बित्तिकै कार्यालयबाट प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको बताए ।

दुईदिन अघिमात्र कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेतको बाघको आक्रमणमा परेर ज्यान गएको थियो । उनीलाई गत आइतबार अपरान्ह ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएको बेला बाघले आक्रमण गरेको थियो । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटेबाघको आक्रमण बढेको छ ।

यसअघि २०७५ माघ यता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा ६ जनाको मृत्यु भइसकेको छ । बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको संरक्षणको लागि स्थापना गरिएको सबैभन्दा कान्छो निकुञ्ज हो । पछिल्लो तथ्याङ्क अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बयस्क बाघ रहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ०७:५१