बाँके । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज स्थानीय तहमा दलहरुले उम्मेदवारको मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी दर्ताको समय दिइएको छ । २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि कोहलपुर–६ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु र नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु उम्मेद्वार बनेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी कडा प्रतिश्पर्धीका रुपमा उम्मेद्वार बनेका छन् । उपनिर्वाचन हुन लागेका ठाउँमा मुख्यगरी नेकपा, काँग्रेस र राप्रपाका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको छ । उपनिर्वाचनका लागि अन्य दलहरुले उम्मेद्वारको नाम सार्वजनीक नगरे पनि आज उम्मेद्वारी दर्ता गर्ने जनाइएको छ ।
उपनिर्वाचन नजिकिँदै गर्दा राजनीतिक चहलपहल पनि उस्तै गरी अघि बढिरहेको छ । निर्वाचित जनप्रतिनिधि गुमाएपछि वडाबाट हुने काममा विभिन्न समस्या भोगिरहेका वडा नं. ६ का मतदाताहरु पुनः मतदानमा सहभागी हुने पखाईमा छन् । मतदाताहरुका आ–आफ्नो दृष्टिकोण र विचार भए पनि समग्रमा उनीहरुको एउटै पखाई छ, मतदान । मतदान आउने दिन कुर्दै मतदाताहरु उत्साहित बनिरहेका छन् ।
‘यो उपनिर्वाचनमा मैले जीवनमै पहिलो पटक मतदान गर्ने हो,’ नयाँ मतदाता सन्दीप खनालले भने, ‘मलाई दशैं आएजस्तै लागेको छ । कहिले मतदान होला भनेर पर्खिरहेको छु ।’ केटाकेटी हुँदा दशैं आउँदा खुशी हुने गरेको स्मरण गर्दै मतदाता खनालले अहिले नयाँ मतदाता भएकोमा दशैं आएजत्तिकै खुशी भएको बताए । ‘केटीकेटीमा दशैं आउँदा नयाँ लुगा लगाइन्थ्यो, यो उपनिर्वाचनमा मतदाता बनेर स्थानीय सरकार सञ्चालनका लागि नयाँ प्रतिनिधि छनौट गर्ने अवसर पाएको छु,’ उनले भने ।
गत निर्वाचनमा उमेर नपुगेका कारण मतदान गर्न नपाएकोमा उनले खल्लो महसुस गरेको अनुभव सुनाए । ‘त्यतिखेर म खुशी त थिएँ, तर मतदान गर्न नपाउँदा खल्लो लागेको थियो । यसपटक आफूले रोजेको योग्य र सक्षम व्यक्तिलाई भोट हालिन्छ,’ खनालले भने । यद्यपी पहिलो पटक भोट कसरी हाल्ने, बिग्रिने हो कि भन्ने डर लागिरहेको उनको भनाई छ । अर्का नयाँ मतदाता चन्द्रकली चौधरीले मतदानअघि उम्मेद्वारको पृष्ठभूमी, योग्यता, क्षमता र अनुभव हेरेर मतदान प्रयोग गर्ने बताइन् ।
उनले भनिन्, ‘आफूले मतदान गर्ने उम्मेद्वारले जनचाहना अनुसारका कामहरु गर्न सक्छ या सक्दैन आँकलन गरेर मात्रै मतदान गर्ने हो । अहिले उम्मेद्वारले गर्ने प्रतिवद्धता र भनाईको समिक्षा गरिरहेको छु ।’ आफ्नो एउटै मत भए पनि वडाको राम्रो काम गर्न सक्ने व्यक्तिले पाओस् भन्ने सोचाइँ रहेको चौधरीको भनाई छ । ‘मेरो मतको मुल्य कति छ भन्ने मैले अनुभव गरेको छु । मेरो एउटा मतका कारण मेरो शहरले राम्रो नेतृत्व पाउने छ । सहि नेतृत्वलाई चुन्नका लागि मतदान गर्नुपर्छ भनेर अरु साथीहरुलाई पनि भनिरहेको छु,’ उनले भने ।
उपनिर्वाचनको चहलपहल बढ्दै गएपछि वडाका युवाहरु पनि निर्वाचनको माहौलमा सहभागी हुँदै गएका छन् । ‘मसँग उम्मेद्वारहरुले मत मागिरहनु भएको छ, मैले पनि उहाँहरुसँग तपाईका प्रतिवद्धताहरु के छन् भनेर सोध्ने गरेको छु,’ मतदाता प्रेमनारायण अधिकारीले भने, ‘मैले वडाको विकासका लागि उम्मेद्वारहरुलाई सुझाव पनि दिने गरेको छु ।’ उपनिर्वाचनले उम्मेदवारहरुलाई चिन्न आफूलाई उत्साहित बनाइरहेको अधिकारीले बताए ।
नयाँ मतदाताहरु जनक अधिकारी, विनय थापा र भगवतीप्र्रसाद चौधरीको पनि एउटै धारणा छ, योग्य, सक्षम र शिक्षित व्यक्तिले निर्वाचन जित्नुपर्छ । ‘प्रचारप्रसारका क्रममा उम्मेद्वारहरुले आफूहरुसँग मत मागिरहनु भएको छ । उम्मेद्वारका प्रतिवद्धता सुनिरहेका छौं, मतदानको दिनसम्म सक्षम र योग्य उम्मेद्वार छनौट गर्छौ, त्यसमा पनि हामी समाजका लागि केही गर्न सक्ने युवा खोजिरहेका छौं,’ उहाँहरुले एकै स्वरमा भने ।
अधिकारी, थापा र चौधरीले विकास र समृद्धिका लागि युवाको आवश्यकता रहेको बताउँदै भने, ‘वडाको विकासका लागि सहि र सक्षम व्यक्तिलाई चुन्ने उपनिर्वाचन हामीहरुका लागि पहिलो र उपयुक्त अवसर हो । हामीले यो अवसरलाई अधिकारका रुपमा प्रयोग गर्दै विवेकपूर्ण र सचेत भएर उम्मेदवार चुन्नुपर्छ । हामीले यो अवसरलाई सहीरुपमा प्रयोग गर्न सकेनौं भने भोली वडाको विकासमा हामी पछाडी पर्छौं ।’
कोहलपुर–६ मा नयाँ र युवा मतदाता मात्र नभई अन्य मतदाताहरु पनि मतदानको पर्खाइँमा छन् । वडाका गाउँबस्तीहरु मतदानको व्यग्र प्रतिक्षा छन् । उम्मेद्वारको टुंगो लगाएका दलले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले घरदैलो अभियानमा छन् भन् राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाका टोलटोलमा प्रोजेक्टरमार्फत भिडियो डकुमेन्ट्री देखाएर आफ्ना प्रतिवद्धता सार्वजनीक गरिरहेको छ ।
सत्यपाटी ।